काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा ४५ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
चालु आवको साउनदेखि वैशाखसम्म ७२८ परियोजनामार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । गत चैतसम्म ६१५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ लगानी भित्रिएको थियो ।
उक्त अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषिमूलक उद्योगमा आएको छ । कृषिमूलक १६ परियोजनामा २२ अर्ब आठ करोड ८० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । यस्तै पर्यटनमूलक क्षेत्रका १८९ परियोजनामा १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै सेवामूलक ५५ परियोजनाका लागि चार अर्ब २३ करोड २४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
यस्तै उत्पादनमूलक ४२ परियोजनामार्फत दुई अर्ब ७० करोड, पूर्वाधारका एक परियोजनामा एक अर्ब ६५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । सूचना प्रविधि क्षेत्रका ४२१ परियोजनामा एक अर्ब ७४ करोड ३८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
यस्तै ऊर्जामूलक दुई परियोजनामा २३ करोड ४२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । सबैभन्दा कम खनिजमूलक दुई परियोजनामा ११ करोड ५० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । वैशाखमा मात्र ११३ परियोजनामार्फत तीन अर्ब ५२ करोड ३० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ ।










प्रतिक्रिया