खानेपानीको कर, बिजुली महसुल र चर्को ब्याजदर हटाउन सांसदहरूको जोड


काठमाडौँ । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको सातौँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।

महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सदस्य सुशान्त वैदिक प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सन्दिप रानाा राष्ट्रियसभा सदस्य जगत तिमिल्सीना, नगर विकास कोष आयोजना मूल्यांकन महाशाखा प्रमुख सुवास पन्त, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला, वन उपभोक्ता महासंघ नेपालकी महासचिव पार्वता गौतम लगायतको उपस्थिति रहेको थियो ।

साधारणसभाको बन्दसत्रमा वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा समसामयिक प्रस्तावमाथि छलफल गरिने महासंघले जनाएको छ ।

“खानेपानीमा भ्याट लाग्नु पर्ने कुनै कारण छैन” – सुशान्त वैदिक


प्रमुख अतिथि सांसद सुशान्त वैदिकले खानेपानीलाई राज्यको सबैभन्दा आधारभूत आवश्यकता भन्दै सेवामूलक संस्थामाथि लगाइएको कर हटाउन सरकार गम्भीर हुनुपर्ने बताए।

उनले भने, “खानेपानी आधारभूत सेवा हो। यस्तो सेवामूलक संस्थामा भ्याट लाग्नु पर्ने कुनै कारण छैन। मेरो डायरीको पहिलो बुँदामै खानेपानीबाट भ्याट हटाउनुपर्छ भन्ने कुरा लेखेको छु।”

वैदिकले सरकारले विक्रम संवत् २०८७ सम्म देशभर स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य लिएको स्मरण गराउँदै त्यसको मुख्य आधार उपभोक्ता समितिहरू नै भएको बताए।

उनले भने, “सरकारले योजना बनाउँछ, तर घरघरमा धारा, ट्यांकी र पाइप पुर्‍याउने काम हजुरहरू जस्ता उपभोक्ता समितिले गर्नुहुन्छ।” उनले नगर विकास कोष मार्फत लिइने ऋणको ब्याजदर उच्च भएको स्वीकार गर्दै विदेशी मुद्रा विनिमय दरका कारण समस्या जटिल बनेको बताए। यद्यपि वैकल्पिक वित्तीय मोडल, अनुदान र सरकारको योगदान बढाएर राहत दिने विषयमा छलफल भइरहेको उनको भनाइ थियो।

त्यसैगरी उनले खानेपानी क्षेत्रमा प्रयोग हुने विद्युत महसुलमा समेत छुट दिनुपर्ने धारणा राख्दै “हाइड्रोजन उद्योगलाई छुट दिनुभन्दा पहिले खानेपानीलाई प्राथमिकता दिनुपर्छ” भने।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार  ०७ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।