तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकको नयाँ रणनीति : स्थायी निक्षेप सुविधा दैनिक रूपमा उपलब्ध गराइने


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले आफूसँग भएको अधिक तरलता दैनिक राष्ट्र बैंकमा राख्न पाउने भएका छन् । मौद्रिक व्यवस्थापन विभागले तरलता व्यवस्थापन गर्न यस्तो व्यवस्था गरेको हो ।

२०८३ जेठ १३ गतेदेखि लागू हुने गरी ‘स्थायी निक्षेप सुविधा’ (एसडीएफ) को सुविधा प्रत्येक दिन उपलब्ध गराउने जारी सुूचनामा भनिएको छ ।

नयाँ व्यवस्थाअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंक खुलेको प्रत्येक दिन बैंकिङ कारोबार समयभित्र स्थायी निक्षेप सुविधा प्रयोग गर्न पाउनेछन् ।

यसअघि यो सुविधा हप्ताको निश्चित दिन मात्र उपलब्ध हुने गरेकोमा अब बैंकहरूले आफ्नो आवश्यकताअनुसार हरेक दिन अधिक तरलता राष्ट्र बैंकमा राख्न सक्नेछन्। यसरी राखिएको निक्षेपको सावाँ र ब्याज रकम भोलिपल्ट अपराह्न ३ बजेपछि सम्बन्धित बैंकको खातामा जम्मा गरिने पनि जारी सूचनामा उल्लेख छ ।

बैंकको यो व्यवस्थाले बैंकिङ प्रणालीको तरलता नियन्त्रण गर्न, ब्याजदरको गिरावटलाई रोक्न र बजारमा पैसाको प्रवाह केही घटाउन मद्दत गर्ने छ । यसअघि राष्ट्र बैंकले हप्तामा दुई पटक (सामान्यतया आइतबार र बुधबार) मात्र बोलकबोलमार्फत वा निश्चित समयका लागि उपलब्ध गराउँदै आएको थियो ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार  ०७ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।