सेयरबाट पुँजीगत लाभ कर अन्तिम कर हुने अर्थमन्त्रीको स्पष्टोक्ति



काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर कारोबारबाट प्राप्त हुने पुँजीगत लाभमा लाग्ने कर नै अन्तिम कर हुने स्पष्ट पारेका छन्। बजेटपछि आइतबार पत्रकारहरूसँगको भेटघाटमा उनले भने, “सेयर कारोबारमा पुँजीगत लाभकर अन्तिम करका रूपमा मानिनेछ र यसमा थप कुनै कर लाग्दैन।”

उनले भारतमा सेयर कारोबारको अवधि अनुसार अल्पकालीन र दीर्घकालीन पुँजीगत लाभकर फरक–फरक दरमा लाग्ने व्यवस्था रहेको उल्लेख गर्दै नेपालमा लामो समयदेखि पुँजीगत लाभकर अन्तिम हो कि होइन भन्ने विषयमा दुविधा रहेको बताए। “लगानीकर्ताहरूको सुझावपछि हामीले यसलाई अन्तिम करका रूपमा स्पष्ट गरेका हौं,” उनले भने।

अर्थमन्त्री वाग्लेले करसम्बन्धी भ्रम फैलाउन नहुने चेतावनी दिँदै भने, “केहीले ४० लाख रुपैयाँको सीमाबारे पनि अन्योल फैलाएका हुन सक्छन्। सेयरबाहेक अन्य आम्दानी भए त्यसअनुसार कर तिर्नुपर्ने हो, तर सेयर कारोबारबाट प्राप्त लाभमा पुँजीगत लाभकर नै अन्तिम कर हुनेछ।”

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार  १८ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।