वीरगञ्ज । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै ४ अर्ब २ करोड रुपैयाँ मूल्यभन्दा बढीका विद्युतीय सवारीसाधन आयात भएका छन् ।
गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात २ अर्ब ३७ करोड रुपैयाँ अर्थात् १४३.६० प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज नाका हुँदै चालु आवमा १५ हजार २७१ वटा विभिन्न थरिका विद्युतीय सवारीसाधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको बताए।
गत आवको १० महिनामा यो नाका हुँदै १ अर्ब ६५ करोड मूल्य पर्ने ९ हजार ४२ वटा विभिन्न विद्युतीय सवारीसाधन आयात गरिएका थिए । त्यसवापत ८१ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
चालु आवको १० महिनामा १ अर्ब ८७ करोड रुपैयाँ मूल्य पर्ने ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ६५७ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् । त्यसवापत १ अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । जबकी गत आवको १० महिनामा भने २ करोड ६ लाख मूल्य पर्ने ६ वटा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका विद्युतीय जीप, कार र भ्यानको आयात भएको थियो ।
यस्तै, चालु आवको १० महिनामा १ अर्ब १७ करोड रुपैयाँ मूल्य पर्ने ८ हजार ८६७ वटा विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात हुँदा ३८ करोड ५५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा १ करोड ९६ लाख रुपैयाँ मूल्य पर्ने ४ हजार ८३४ वटा विद्युतीय मोटरसाइकल र स्कुटर आयात भएका थिए । ती सवारीसाधनको आयातबाट मात्रै २० करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
यो नाका हुँदै चालु आवको १० महिनामा ३१ अर्ब ३१ करोड रुपैयाँ मूल्य पर्ने इन्धन र विद्युत्बाट चल्ने सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका सूचना अधिकारी विष्टले जानकारी दिए।
गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात ९ अर्ब ६५ करोड रुपैयाँ अर्थात् ४४.५८ प्रतिशतले बढेको छ । चालु आवको १० महिनामा वीरगञ्ज हुँदै १ अर्ब २५ करोड रुपैयाँ मूल्य पर्ने ६ सय २८ वटा जीप, कार र भ्यानको आयात भएको छ । त्यसवापत कार्यालयले ३ अर्ब १७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा १ अर्ब ८१ करोड रुपैयाँ मूल्य पर्ने ८ सय ५५ वटा जीप, कार र भ्यानको आयात भएका थिए ।
यस्तै, चालु आवको १० महिनामा ७ अर्ब ३२ करोड रुपैयाँ मूल्य पर्ने ५१ हजार ४२३ वटा मोटरसाइकल (अन एसेम्बल्ड) आयात भएका छन् । त्यसवापत ७ अर्ब ९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा ५ अर्ब २१ करोड रुपैयाँ मूल्यका यस्ता मोटरसाइकल आयात भएका थिए ।










प्रतिक्रिया