अष्ट्रेलियाको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा ०.३ प्रतिशतमा सीमित


काठमाडौँ । अष्ट्रेलियाको आर्थिक वृद्धिदर सन् २०२६ को पहिलो त्रैमासिकमा सुस्त भएको सरकारी तथ्यांकले देखाएको छ ।

अष्ट्रेलियाको तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार मार्चसम्मका तीन महिनामा देशको कुल गार्हस्थ्य उत्पादन ०.३ प्रतिशतले वृद्धि भएको छ । यो सन् २०२५ को अन्तिम त्रैमासिकमा रहेको ०.९ प्रतिशत वृद्धिदरको तुलनामा उल्लेखनीय रूपमा कम हो ।

वार्षिक आधारमा भने मार्चसम्मको १२ महिनामा अष्ट्रेलियाको अर्थतन्त्र २.५ प्रतिशतले विस्तार भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको वृद्धिदरसँग बराबर रहेको छ ।

तथ्यांकअनुसार उक्त अवधिमा घरपरिवारको उपभोग खर्च ०.५ प्रतिशतले बढे पनि सरकारी उपभोग खर्च ०।२ प्रतिशतले घटेको छ । सरकारी खर्चमा आएको यो गिरावट सेप्टेम्बर २०२२ यताकै सबैभन्दा न्यून त्रैमासिक स्तर मानिएको छ ।

तथ्यांक सार्वजनिक भएपछि अष्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र अस्थिरताबीच पनि अष्ट्रेलियाको अर्थतन्त्रले लचकता प्रदर्शन गरिरहेको बताए। उनका अनुसार अर्थतन्त्रले विभिन्न चुनौतीको सामना गरिरहे पनि यसको आधारभूत संरचना अझै मजबुत रहेको संकेत पछिल्लो तथ्यांकले दिएको छ ।

यस अवधिमा खानी क्षेत्रको उत्पादन १.५ प्रतिशतले घटेको छ। प्रतिकूल मौसमका कारण उत्पादनमा असर परेको बताइएको छ । त्यस्तै, कोइला र खनिज अयस्कको निर्यात घट्दा कुल निर्यात १.१ प्रतिशतले कमी आएको छ भने आयात २.१ प्रतिशतले बढेको छ ।

तथ्यांक कार्यालयका अनुसार व्यापार सन्तुलनको प्रभावका कारण त्रैमासिक आर्थिक वृद्धिदरमा ०.८ प्रतिशत बिन्दुको नकारात्मक असर परेको छ ।

यसैबीच, अष्ट्रेलियाको केन्द्रीय बैंकले गत मे महिनामा सार्वजनिक गरेको प्रक्षेपणमा वार्षिक आर्थिक वृद्धिदर जुन त्रैमासिकमा १.९ प्रतिशत र डिसेम्बरसम्म १.३ प्रतिशतमा झर्ने अनुमान गरेको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार  ०८ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।