काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा नेपालले १२३ मुलुकसँग घाटाको व्यापार गर्दा ३४ मुलुकसँग मात्रै नाफाको व्यापार गरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार, १० महिनाको आयातनिर्यातको तथ्यांकले भारत, चीन, अर्जेन्टिना, यूएइ, इन्डोनएसिया लगायत मुलुकसँगको व्यापार घाटामा रहेको छ ।
वैदेशिक व्यापारमा सबैभन्दा धेरै घाटाको व्यापार भारतसँग भएको छ । भारतसँगको व्यापारमा ७ खर्ब ६९ अर्ब ९२ करोड ७० लाख ५२ हजार रुपैयाँको घाटा व्यहोरेको छ । भारतबाट ९ खर्ब ७४ अर्ब २९ करोड ७७ लाख रुपैयाँको वस्तु तथा सामान आयात गर्दा २ खर्ब ४ अर्ब ३७ करोड ७ लाख रुपैयाँको मात्र वस्तु तथा सामान निर्यात गरेको छ ।
त्यसैगरी, दोस्रोमा रहेको चीनसँग ३ खर्ब ३५ अर्ब १ करोड ५५ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । चीनबाट ३ खर्ब ३६ अर्ब ४० करोड ९१ लाख रुपैयाँको वस्तु तथा सामान आयात हुँदा १ अर्ब ३९ करोड ३६ लाख रुपैयाँको मात्र वस्तु तथा सामान निर्यात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
अर्जेन्टिनासँगको व्यापारमा ९५ अर्ब २७ करोड ३४ लाख रुपैयाँको घाटा व्यहोरेको छ । अर्जेन्टिनाबाट ९५ अर्ब २७ करोड ७० लाख रुपैयाँको वस्तु तथा सामान आयात गर्दा निर्यात भने ३६ लाख रुपैयाँको मात्र भएको छ ।
यूएईसँगको व्यापारमा ४८ अर्ब १७ करोड १३ लाख रुपैयाँको व्यापार घाटा भएको छ । यूएईबाट ४९ अर्ब ७४ करोड २५ लाख रुपैयाँको वस्तु आयात गर्दा १ अर्ब ५७ करोड ११ लाख रुपैयाँको वस्तु तथा सामान निर्यात भएको छ ।
त्यस्तै, इन्डोनएसियासँगको व्यापारमा १९ अर्ब ६ करोड १८ लाख रुपैयाँ बराबरको घाटा हुँदा थाइल्याण्डसँगको व्यापारमा १४ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ, ब्राजिलसँगको व्यापारमा १३ अर्ब ९५ करोड १ लाख रुपैयाँको व्यापार घाटा रहेको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
व्यापार नाफा भएका मुलुकमध्ये डेनमार्कसँग ६५ करोड ३२ लाख रुपैयाँ नाफा गरेको छ । डेनमाकबाट १६ करोड ७८ लाख रुपैयाँको वस्तु तथा सामान आयात गर्दा ८२ करोड १० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।
त्यस्तै, दोस्रोमा नर्वेबाट ८ करोड ८ लाख रुपैयाँको वस्तु आयात गर्दा १३ करोड ९८ लाख रुपैयाँको वस्तु निर्यात गरी ५ करोड ९० लाख रुपैयाँको नाफाको व्यापार गरेको छ । रोमनियासँगको व्यापारमा ४ करोड ६८ लाख रुपैयाँको व्यापार नाफामा रहेको छ ।
त्यसैगरी, अमेरिकी सामोयासँग २ करोड ७८ लाख रुपैयाँ, आइसल्याण्डसँग २ करोड ४६ लाख, नाइजरसँग १ करोड ७३ लाख रुपैयाँ, इराकसँग १ करोड ५६ लाख रुपैयाँको व्यापार नाफामा रहेको छ ।
यी बाहेक सबैजसो देशसँग नेपालको व्यापार नाफा लाख वा हजारमा छ । अधिकांश देशसँग व्यापार घाटा र नाफा भएका मुलुकसँग पनि न्यून मात्रामा हुँदा कूल व्यापार घाटा १४ खर्ब ४३ अर्ब पुगेको हो । नेपालबाट भएको कूल निर्यात नै २ खर्ब ४८ अर्ब रुपैयाँ मात्र रहेको छ ।
२७ देशबाट आयात मात्रै, निर्यात शून्य
व्यापार साझेदार देशमध्ये २७ देशमा नेपालको निर्यात शून्य रहेको छ । यस्तै, नेपाली वस्तुहरू निर्यात भएका ८ देशबाट भने कुनै पनि वस्तु आयात भएको छैन । आयात मात्र हुने २७ मुलुकहरुमा सबैभन्दा धेरै वस्तु तथा सामान माल्दोभाबाट आयात भएको छ । माल्दोभाबाट १० महिनामा १ अर्ब २९ करोड ३७ लाख रुपैयाँको सामान आयात हुँदा निर्यात भने शून्य रहेको छ ।
त्यसैगरी, आयात मात्रै हुने मुलुकहरुमा सुडन, रवन्डा, मेडागास्कर, आइवर, बेलारुस लगायतका मुलुकहरु रहेका छन् ।
व्यापार नाफा हुने देशहरूमध्ये फिजी, क्यामन आइसल्याण्ड, बहमास, साइरिया, पानामा, अँगोला र सोमलियामा निर्यात मात्र (आयात नभएको) भएको हुँदा व्यापार नाफामा देखिएको हो ।
सबैभन्दा धेरै निर्यात हुने वस्तु
१० महिनाको अवधिमा सबैभन्दा बढी सोयाबिन तेल १ खर्ब १ अर्ब २६ करोड रुपैयाँ बढीको निर्यात भएको छ । त्यसैगरी, अलैँची ११ अर्ब ४२ करोड रुपैयाँको, कार्पेट ८ अर्ब ४८ करोड रुपैयाँको, कच्चा सूर्यमुखी तेल ७ अर्ब ४१ करोड रुपैयाँको निर्यात भएको छ । नेपालबाट सबैभन्दा धेरै निर्यात हुने सोयाबिन तेल भने तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी भारत निर्यात गर्ने गरिएको तथ्यांकले देखाएको छ ।
यता, सबैभन्दा बढी आयात हुने वस्तुमा डिजेल रहेको छ । १० महिनाको अवधीमा १ खर्ब ३० अर्ब ९३ करोड रुपैयाँको डिजेल आयात भएको छ । ५८ अर्ब ६३ करोड रुपैयाँको पेट्रोल, ४६ अर्ब १३ करोड रुपैयाँको खाना पकाउने ग्यास, ३९ अर्ब ३९ करोड रुपैयाँको स्मार्टफोन आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।












प्रतिक्रिया