विश्व वातावरण दिवसमा वर्ल्डलिङ्कद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न


काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत मञ्जुश्री पार्क परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूको प्राविधिक सहयोग, जलविनायक सामुदायिक वन उपभोक्ता समूह तथा प्रगतिशील युवा समूहको सहकार्यमा आयोजित कार्यक्रममा स्थानीय समुदाय, युवा, विद्यार्थी, सामुदायिक वनका प्रतिनिधि तथा वर्ल्डलिङ्कका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमा योगदान पुर्‍याउने उद्देश्यका साथ आयोजित कार्यक्रममा मञ्जुश्री पार्क परिसरमा धुपी तथा विभिन्न फलफूलका बिरुवाहरू रोपिएका छन्।

वर्ल्डलिङ्क कम्युनिकेशन्सकी सीएसआर डाइरेक्टर तथा प्रवर्द्धक सेयरधनी अनुपा भण्डारी जालानले वृक्षारोपणले सामुदायिक वनको संरक्षण तथा पार्कको सौन्दर्य अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरीन्। उनले वातावरण संरक्षणलाई जीवनशैली, सामाजिक उत्तरदायित्व तथा भावी पुस्तासँग जोडिएको साझा दायित्वका रूपमा लिनुपर्ने आवश्यकता औंल्याइन् ।

वर्ल्डलिङ्कले शिक्षा, वातावरण संरक्षण, मानसिक स्वास्थ्य सचेतना, डिजिटल साक्षरता, दुर्गम क्षेत्रमा अनलाइन शिक्षा, स्वास्थ्य संस्थामा सौर्य ऊर्जा जडान तथा सुरक्षित इन्टरनेटसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि वातावरणीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार  ११ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।