काठमाडौँ । पछिल्ला वर्षहरूमा नेपालमा सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले आफ्नो भूमिका र प्रभाव विस्तार गर्दै गएका छन् ।
यी संस्थाहरूले नागरिकको बचत संकलन गर्दै वित्तीय क्षेत्रमा बैंकसँगै आफ्नो प्रभाव विस्तार गर्दै गएका छन् ।
साथै यी संस्थाहरू केवल बचत व्यवस्थापन गर्नुभन्दा पनि दर्घिकालीन लगानीको लागि पूँजी परिचालनमा पनि योगदान दिने अवस्थामा पुगेका हुन् ।
नेपालमा लामो समयदेखि बैंकहरू वित्तीय प्रणालीका सबैभन्दा ठूलो निक्षेपकर्ता र कर्जा लगानीका शक्तिका केन्द्रका रूपमा रहँदै आएका छन् । तर अब यी कोषहरूले संकलन गरेको रकमको आकार तीव्र रूपमा बढ्दै जाँदा दीर्घकालीन कर्जा प्रवाहको क्षेत्रमा पनि भुमिका बढ्दै गएको छ ।
नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप परिचालन ८० खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । यता, सामाजिक सुरक्षा कोषले १ खर्ब ११ अर्ब ७ करोड रुपैयाँ, कर्मचारी सञ्चय कोषले ५ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ र नागरिक लगानी कोषले ३ खर्ब ३० अर्ब ५८ करोड रुपैयाँ व्यवस्थापन गर्दै आएका छन् । यसरी यी तीन संस्थाले मिलाएर १० खर्ब ४ अर्ब ७९ करोड रुपैयाँको वित्तीय स्रोत संकलन गरेका छन् ।
विशेषगरी सामाजिक सुरक्षा कोषको विस्तारले वित्तीय प्रणालीमा यसको प्रभाव अझ बढाएको छ । औपचारिक श्रम बजारमा रहेका श्रमिकहरू क्रमशः सामाजिक सुरक्षा प्रणालीमा आबद्ध हुँदै गएपछि कोषमा नियमित रूपमा ठूलो रकम जम्मा भइरहेको छ ।
कर्मचारी सञ्चय कोष दशकौंदेखि सरकारी र संगठित क्षेत्रका कर्मचारीहरूको बचत व्यवस्थापन गर्दै आएको छ भने नागरिक लगानी कोषले विभिन्न बचत योजना र निवृत्तिभरण योजनामार्फत आफ्नो आकार विस्तार गर्दै आएको छ ।
राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठका अनुसार नेपालमा बैंकहरू अझै वित्तीय प्रणालीको केन्द्रमा छन्, तर सामाजिक सुरक्षा तथा बचत कोषहरूले दीर्घकालीन स्रोत निर्माण गर्दै अर्थतन्त्रमा उल्लेखनीय प्रभाव राख्न सुरु गरिसकेका छन् ।
उनले भने, “बैंकको निक्षेप तत्कालै झिक्न सकिन्छ, तर यी कोषमा जम्मा भएको रकम दीर्घकालीन हुन्छ । यसले स्थिर वित्तीय आधार तयार पार्छ ।”
कुनै पनि देशको वित्तीय शक्तिको वास्तविक मापन केवल संस्थाको संरचनाले होइन, व्यवस्थापन गरेको वित्तीय स्रोत, अर्थतन्त्रमा प्रभाव र भविष्यमा खेल्ने भूमिका बाट हुन्छ । श्रेष्ठका भन्छन्, “विश्वका विकसित अर्थतन्त्रमा पेन्सन फण्ड, सामाजिक सुरक्षा कोष र बचत कोषहरूले पूँजी बजारदेखि वित्तीय नीतिसम्म प्रभाव पार्ने क्षमता राख्छन् । नेपालमा पनि यस्तै प्रारम्भिक संकेत देखिन थालेका छन् ।”
यी कोषहरूमा जम्मा भएको रकम दीर्घकालीन लगानीको स्रोतको रूपमा पनि उपयोगी हुने उनी बताउँछन् । दीर्घकालीन बचतलाई लगानीमा परिणत गरेर मुलुकको वित्तीय संरचना बलियो बनाउन सकिने उनको भनाई छ ।
यसरी, सामाजिक सुरक्षा, कर्मचारी सञ्चय र नागरिक लगानी कोषहरूले केवल बचत संकलन गर्ने संस्था मात्रै नभई दीर्घकालीन लगानीका महत्वपूर्ण केन्द्रका रूपमा आफ्नो भूमिका बढाइरहेका उनको बुझाई छ ।
नागरिक लगानी कोषका सुचना अधिकारी अमृत बहादुर अधिकारी अनुसार यी संस्थाहरूमा आउने रकम प्रायः बैंकिङ प्रणाली मार्फत नै आउने भएपनि कोषले दीर्घकालीन रुपमा व्यवस्थापन गर्दछ । यसले वित्तीय प्रणालीमा नयाँ विविधता थपिरहेको छ ।
अब बचतको मुख्य गन्तव्य केवल बैंकहरू मात्रै नभएको जानकारहरू बताउँछन् । नागरिकहरू आफ्नो दीर्घकालीन बचत सामाजिक सुरक्षा, कर्मचारी सञ्चय वा नागरिक लगानी कोषमार्फत सुरक्षित राख्न चाहन्छन् । यसले वित्तीय स्रोत व्यवस्थापनका नयाँ केन्द्रहरू विकास गरिरहेको र वित्तीय प्रणालीमा विकल्प वृद्धि गरेको विज्ञहरूको भनाई छ ।
तर नयाँ वित्तीय शक्ति बन्ने प्रक्रियासँगै जिम्मेवारी पनि बढेको सरोकारवालाहरू बताउँछन् । रकमको आकार जति ठूलो हुन्छ, त्यसको व्यवस्थापन चुनौती पनि त्यति नै बढ्ने उनीहरूको भनाई छ । लाखौँ योगदानकर्ता र बचतकर्ताको भविष्यसँग सम्बन्धित रकम भएकाले यी संस्थाले पारदर्शिता, सुशासन र व्यावसायिक क्षमतामा उच्च स्तरको प्रदर्शन गर्न आवश्यक रहेको पूर्व निर्देशक श्रेष्ठ बताउँछन् ।
नेपालमा सामाजिक सुरक्षा तथा बचत कोषहरूको उदयले वित्तीय प्रणालीमा नयाँ केन्द्रहरू निर्माण गर्दैछ । अब बैंकहरू अझै प्रमुख केन्द्र भए पनि यी कोषहरूले दीर्घकालीन वित्तीय आधार र स्थिरता प्रदान गर्दै वित्तीय शक्ति संरचनामा विविधता थपिरहेका छन् ।
“वित्तीय शक्ति केवल ठूलो रकम भएको अवस्थालाई मात्र होइन, त्यस रकमलाई विश्वासका साथ व्यवस्थापन गर्न सक्ने क्षमतामा पनि निर्भर गर्छ” श्रेष्ठ थप्छन्, “नेपालमा दीर्घकालीन बचत व्यवस्थापन गर्ने संस्थाहरू वित्तीय प्रणालीको महत्वपूर्ण स्तम्भ बन्ने अवस्था आएको छ ।” यसले मुलुकको पूँजी बजार र दीर्घकालीन लगानीलाई थप मजबुत बनाउँदै लैजाने विज्ञहरूको भनाई छ ।
यसरी सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष केवल बचत संकलन गर्ने संस्थाका रूपमा मात्रै होइन, आर्थिक नीति निर्माण, वित्तीय नियमन र दीर्घकालीन लगानीमा प्रभाव पार्ने वित्तीय शक्तिका केन्द्रका रूपमा उदाउँदै गएको जानकारहरूको मत छ । लाखौँ नागरिकको सहभागिता र योगदानले यी कोषलाई भविष्यमा अझ ठूलो भूमिका खेल्ने क्षमता दिएको उनीहरूको भनाई छ ।
मुलुकको वित्तीय प्रणाली अहिले रूपान्तरणको नयाँ चरणमा प्रवेश गरेको विज्ञहरूको भनाई छ । बैंकिङ प्रणाली अझै केन्द्रमा भए पनि सामाजिक सुरक्षा र बचत कोषहरूको बढ्दो आकार र प्रभावले वित्तीय संरचनामा विविधता र स्थिरता थप्दै वित्तीय शक्ति र नियमनमा नयाँ दृष्टिकोण ल्याएको विज्ञहरूको बताउँछन् ।










प्रतिक्रिया