बजेटलाई जनता केन्द्रित बनाउन अर्थमन्त्रीलाई सुझाव


काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले आर्थिक वर्ष २०८३/८४को प्रस्तुत बजेटलाई जनता केन्द्रित बनाउन सुझाव दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सांसद नारायणदत्त मिश्रले नेपालमा अर्थतन्त्रमाथि अनेकौँ चुनौती रहेकाले त्यसलाई सम्बोधन गर्ने बजेट परिमार्जन गर्न सरकारलाई सुझाव दिए ।

सांसद झक्कुप्रसाद सुवेदीले सीमान्तकृत समुदायमैत्री बजेट हुनुपर्नेमा जोड दिए । सांसद सम्झना देवकोटाले प्रस्तुत बजेट चालु आवको बजेटको संशोधित आकारभन्दा २५.२ प्रतिशतले वृद्धि हुनु आफैँमा महत्वकाङ्क्षी भएको जनाए । सांसद मोहम्मद खालिदले आगामी आवको बजेटले महँगी बढाउने र जनतामा मर्कामा पर्न सक्ने अवस्था देखिएको बताए ।

सांसद ललितजङ्ग शाहीले गरिबीको रेखामुनि रहेका जनताको शिक्षा र स्वास्थ्य निःशुल्क बनाउन बजेट केन्द्रित हुनुपर्नेमा धारणा राखे ।
बैठकमा सांसद विष्णुकुमारी सापकोटा, वासुदेव घिमिरे, भुवनबहादुर सुनार, गीता देवकोटा, विष्णुबहादुर विश्कर्मा, श्रीकृष्णप्रसाद अधिकारीलगायतले बजेटलाई जनमुखी बनाउनुपर्ने धारणा राखे ।
आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहेकाले सभाको अर्को बैठक असार १ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार  १८ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।