अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला


म्याग्दी । जिल्लाको मालिका गाउँपालिका २ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका सामग्री तयार पारेर यहाँका महिला स्वरोजगार र आत्मनिर्भर बनेका हुन् ।

रुम अल्लो कपडा तथा ढाका उत्पादन समूहका अध्यक्ष मनकुमारी पुनले १२ जना महिला उद्यमीले अल्लोबाट कपडा बनाउने काम गरिरहेका जानकारी दिइन्। “एक जनाले वार्षिक रूपमा ४५ देखि १ सय ५० मिटरसम्म अल्लोबाट कपडा बनाउँछौँ”, उनले भनीन्, “प्रतिमिटर ५ सयदेखि ७ सय ५० का दरले अल्लो कपडा बिक्री हुन्छ ।”

हिउँदयाममा लेकाली क्षेत्रको जङ्गलमा अल्लोको पुवा सङ्कलन, प्रशोधन गरी धागो बनाउने र घरायसी कामबाट बचेको फुर्सदको समयमा धागो बनाउने गरेको उद्यमी हिमदेवी घर्तीले बताइन्। उनका अनुसार चाल्से सिस्नोको डाँठको बाहिरी भागबाट पुवा निकाल्ने गरिन्छ । पुवालाई तातोपानीमा पकाएर तयार पारिएको रेसादार धागोलाई तानको सहायताले कपडा बुन्ने गरिन्छ ।

“वातावरणमैत्री, बलियो, टिकाउ, आकर्षक र मौलिक सीपमा आधारित भएकाले अल्लोको धागो र कपडाको खपतसँगै माग पनि बढेको छ”, घर्तीले भने, “खेतीकिसानी र घरायसी कामबाट बचेको समयको सदुपयोगसँगै भएको आम्दानीले घरखर्च चलाउन र छोराछोरी पढाउन सजिलो भएको छ ।”

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार  १५ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।