नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने


काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य हुने भएको छ ।

अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका सन्दर्भमा देखिएका विभिन्न समस्याहरूका सम्बन्धमा विस्तृत छलफल गरेको छ ।

सो छलफलका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख काफ्लेले कार्यालय र नाडाबीच क्रिएटिभ र दीर्घकालीन उद्देश्यका विषयमा सहकार्यगरी अघि बढ्नु पर्ने बताए ।
सोही क्रममा उनले पहाडी क्षेत्रमा चल्नु पर्ने ठूला सीसीका बाइक पनि काठमाडौँ सहरभित्र चल्ने गरेको गुनासो राख्दै बाइकको तुलनामा स्कुटरको दुर्घटना कम हुने गरेको तथ्य केलाएका छन् ।

छलफलको क्रममा नाडाका अध्यक्ष उप्रेतीले कार्यालयसँग नाडाले विगतमा गरेको सहकार्यबारे चर्चा गरे । सोही छलफलको क्रममा उनले नाडाले आफ्नो आउँँदो ५०औँ वार्षिक साधारणसभा अर्थात् स्वर्ण उत्सवको सन्दर्भमा असार १३ देखि १९ गतेसम्म राजधानीमा विभिन्न कार्यक्रमसहित विशेष सप्ताहव्यापी कार्यक्रम मनाउन लागेको जानकारी दिए ।

छलफलको क्रममा नाडाका महासचिव मिलनबाबु मल्लले सो कार्यालयसँग पहिलेदेखि सहकार्य गर्दै आएकोले अहिले पनि नाडाले सहकार्य गरी अघि बढ्न चाहेको बताए ।

प्रकाशित मिति: १ असार २०८३, सोमबार  १७ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।