स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो


काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई बिमा भुक्तानीका लागि थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बिमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार यसअघि गत जेठको दोस्रो साता स्वास्थ्य बिमा दाबीबापत एक अर्ब तीन करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको थियो । उनका अनुसार गत जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत ३२ करोड १३ लाख ६ हजार रुपैयाँ निकासा गरिएकामा सोही महिनाको २७ गते थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरियो ।

गत मङ्सिरसम्मको बिमा दाबीमध्ये भुक्तानी दिन बाँकी रु सात अर्ब र पुसदेखि असारसम्मको साढे १४ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

सहप्रवक्ता अधिकारीका अनुसार सरकारले विगतका वर्षदेखि बाँकी रहेको बिमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार  १८ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।