सहुलियत कर्जा लिनेको संख्या ५७ प्रतिशतले घट्यो


काठमाडौँ । पछिल्लो समय सहुलियत दरको कर्जा लिने ऋणीहरूको संख्या घट्दै गएको छ । सरकारले ब्याज अनुदानसहित सहुलियतमा उपलब्ध गराउँदै आएको कर्जाबाट लाभ लिने ऋणीको संख्या एक वर्षमा ५७ प्रतिशले घटेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउन–बैशाख) सम्ममा ५४ हजार ३२१ जना ऋणीहरुले ४३ अर्ब ९ करोड रुपैयाँ सहुलियत कर्जा लिएका छन् ।

ऋणीहरुको संख्याको आधारमा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ५७.२२ प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०८१/८२ को १० महिनामा ९४ हजार ९२० जना ऋणीहरुले १ खर्ब २६ अर्ब ८१ करोड ९ लाख रुपैयाँ सहुलियत कर्जा लिएका थिए ।

अधिकांशले सहुलियतपूर्ण कर्जा उत्पादनशील क्षेत्रमा लगानी नगरी अन्य क्षेत्रमा लगानी गर्ने हुँदा बैंक तथा वित्तीय संस्थाहरुले ऋण दिन कम गरेकाले पनि ऋणीहरु घटेको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए ।

उनका अनुसार, वि.सं. २०७५ सालदेखि ब्याज अनुदानसहित सहुलियत कर्जा लागु भएको हो । सुरुमा यो कार्यविधि अनुसार ऋणीले ५ वर्षसम्म ऋण तिर्न पाउने गरी योजना सञ्चालनमा ल्याइएको थियो । हाल उक्त कार्यविधि संशोधन भई ३ वर्षसम्म ऋण तिर्नुपर्ने हुँदा पनि ऋणी घटेका हुन् ।

कृषि तथा पशुपक्षी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा, भूकम्पपीडितको निजी आवास निर्माण, कपडा उद्योग, सीटीईभीटी र युवा स्वरोजगारलाई गरी १० शीर्षकमा सहुलियत कर्जा अनुदान दिएको छ ।

पछिल्लो समय फार्म सञ्चालन मार्फत ऋण कारोबार गरी सहुलियत कर्जाको फाइदा लिए पनि सम्झौता अनुसार व्यवसायमा नभई जग्गामा लगानी गरेका कारण पनि बैंक तथा वित्तिय संस्थाले ऋणीलाई कडाई गर्न थालेका छन् । यसले पनि सहुलियत कर्जा लिने ऋणीहरु घट्दै गएको विज्ञहरुको बुझाइ छ ।

पछिल्लो समय ऋणीहरुले समयमा ऋण असुल नगर्ने हुँदा बैंकहरुले पनि ऋण दिनमा कडाई गरेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) देवेन्द्र खनालले बताए । जसको कारण पनि ऋण लिनेहरु घटेको उनको भनाइ छ ।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२ मार्फत अब सरकारले ३ प्रतिशत मात्र ब्याज अनुदान दिने भएको छ । नयाँ कार्यविधिसँगै २०७५ सालमा जारी पुरानो कार्यविधि खारेज भएको हो ।

कुन क्षेत्रमा कति कर्जा ?

सहुलियत कर्जामध्ये सबैभन्दा धेरै ऋणीहरु महिला उद्यमशील कर्जामा रहेका छन् । चालु आवको १० महिनामा ३१ अजार ३४९ जना महिला उद्यमीहरुले ८ अर्ब ४२ करोड ४ लाख रुपैयाँ बराबरको ऋण लिएका छन् । गत आवको सोही अवधीमा ५७ हजार ६३६ जना ऋणीहरुले २० अर्ब ९ करोड ३ लाख रुपैयाँ बराबरको कर्जा लिएका थिए ।

त्यसैगरी, कृषि क्षेत्रमा २२ हजार २९२ जना कृषकहरुले ३४ अर्ब ७ करोड ९ लाख रुपैयाँ ऋण लिएका छन् । गत वर्षको सोही अवधीमा ३५ हजार ८६१ जना ऋणीहरुले ५७ अर्ब ५४ करोड ६ लाख रुपैयाँ बराबरको ऋण लिएका थिए ।

त्यस्तै, शिक्षित युवा स्वरोजगारमा ४१ जनाले ४ लाख रुपैयाँ, विदेशबाट फर्केका युवा परियोजनामा १८१ जनाले ३ करोड रुपैयाँ, दलित समुदाय विकासमा ३०० जनाले ७ करोड रुपैयाँ र उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा प्रयोजनमा ३९ जनाले ३ लाख रुपैयाँ ऋण लिएका छन् ।

यस्ता किसिमका कर्जामा कर्जाको ब्याजबाहेक अन्य कुनै पनि प्रकारको थप सेवा शुल्क लिन नपाइने व्यवस्था रहेको छ । तर, ब्याज अनुदानसम्बन्धी कर्जा सुविधा लिएका ऋणीले समयमै भुक्तानी गर्नुपर्नेछ ।

समयमै कर्जा भुक्तानी नगरेको अवस्थामा कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने, ऋणीको पासपोर्ट रोक्का, ऋणको नाममा रहेको चलअचल सम्पत्ति बिक्रीमा बन्देज, बैंकमा खाता रोक्कालगायत सरकारी सुविधाबाट वञ्चित हुनेसम्म कारबाही हुने व्यवस्था छ ।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार  १३ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।