बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिदमा कडाइ, ५% वा २५ लाखभन्दा बढीको सेयर किन्दा व्यक्तिगत विवरण बुझाउनुपर्ने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिदमा कडाइ गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै संस्थापक सेयर खरिदमा कडा व्यवस्था ल्याएको हो ।

कुनै पनि व्यक्ति वा संस्थाले चुक्ता पुँजीको कुल ५ प्रतिशत वा सोभन्दा बढी, अथवा कुल २५ लाख रुपैयाँभन्दा बढीको संस्थापक सेयर खरिद गर्दा आफ्नो विस्तृत व्यक्तिगत तथा वित्तीय विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने भएको छ ।

सेयर खरिद गर्ने वास्तविक धनी वा हिताधिकारीको पहिचान सुनिश्चित गर्न राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो ।

नयाँ व्यवस्थाअनुसार विवरण बुझाउने क्रममा सम्बन्धित व्यक्तिले आफ्नो नाम, थर, ठेगाना र पारिवारिक विवरण मात्र नभई नेपाल वा विदेशमा कुनै पनि प्रकारको कसुरमा संलग्न भए वा नभएको बारेमा समेत स्वघोषणा गर्नुपर्नेछ ।

त्यस्तै कुनै पनि मुद्दा–मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक तथा प्रशासनिक कारबाहीको अवस्थामा रहेको भए त्यसको समेत जानकारी गराउनुपर्ने व्यवस्था गरिएको हो ।

लगानीकर्ताले अदालत वा कुनै अधिकारप्राप्त अधिकारीको फैसलाअनुसार बुझाउनुपर्ने राजस्व वा सरकारी बाँकी बक्यौता रहे÷नरहेको र स्वदेश वा विदेशमा कर्जासम्बन्धी कालोसूचीमा परे÷नपरेको बारेमा समेत स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसका साथै नेपाली नागरिकको हकमा नेपालबाहिर कुनै सम्पत्ति रहेको भए वा त्यस्ता सम्पत्तिको वास्तविक धनी भए सोको विवरण पनि खुलाउनुपर्नेछ । लगानीकर्ताको विगतको कार्यानुभव, आबद्ध रहेका संस्था, प्राप्त जिम्मेवारी, पुरस्कार वा सजायको अवस्था र समग्र वित्तीय आचरणको बारेमा समेत बैंकलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ ।

यसैगरी सेयरधनी संस्था भएको खण्डमा सो लगानीकर्ता संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एकल, संयुक्त वा समूहगत गरी १५ प्रतिशत वा सोभन्दा बढी शेयर वा पुँजी लगानी गरेको वास्तविक धनी वा हिताधिकारीको समेत विवरण लिनुपर्ने प्रावधान राष्ट्र बैंकले ल्याएको छ ।

यो निर्देशन जारी हुँदाका बखत कुल ५ प्रतिशत वा कुल २५ लाख रुपैयाँभन्दा बढीको शेयर धारण गरेका तथा वास्तविक धनी वा हिताधिकारीको हकमा समेत विवरण लिई राष्ट्र बैंकसमक्ष पेस गर्नुपर्नेछ । यदि विवरण परिवर्तन भएमा समेत अद्यावधिक विवरण लिई राष्ट्र बैंकसमक्ष पेस गर्नुपर्नेछ ।

प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।