लगानीको माग कमजोर, निष्क्रिय पूँजी ५७ अर्ब नाघ्यो


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ सकिन करिब २० दिन मात्र बाँकी रहँदा पनि बैंकिङ्ग प्रणालीमा लगानीको माग कमजोर देखिएको छ ।

सामान्यतया आर्थिक वर्षको अन्त्यतिर सरकारी खर्च बढ्ने, विकास आयोजनाका भुक्तानी तीव्र हुने र निजी क्षेत्रको कारोबार विस्तार हुने भएकाले बैंकबाट कर्जा माग बढ्ने गर्छ । तर यस वर्ष भने त्यसको उल्टो अवस्था देखिएको हो ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढिरहेको तर कर्जा प्रवाह अपेक्षित रूपमा विस्तार हुन नसकेको देखाएको छ । यसले बैंकमा पैसा थुप्रिँदै गएको तर त्यसको उपयोग उत्पादनशील लगानीमा नबढेको संकेत गरेको छ ।

केन्द्रिय बैंकको पछिल्लो तथ्यांक अनुसार एक दिनको अवधिमा मात्रै बैंक तथा वित्तीय संस्थामा निक्षेप करिब ८ अर्ब रुपैयाँले बढेर ८० खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । तर सोही अवधिमा कर्जा प्रवाह भने करिब १ अर्ब रुपैयाँले मात्र बढेर ५९ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप परिचालन र कर्जा प्रवाह बीचको यो अन्तरले लगानीको माग कमजोर रहेको स्पष्ट देखाउँछ ।

कर्जा प्रवाह सुस्त हुँदा बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) पनि घटेको छ । पछिल्लो तथ्यांक अनुसार यस्तो अनुपात ७२.७२ प्रतिशतबाट घटेर ७२.६५ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले अन्य बैंकहरूलाई अधिकतम ९० प्रतिशतसम्म यो अनुपात कायम गर्न अनुमति दिएको भए पनि अहिलेको अवस्था त्यो सीमाभन्दा निकै तल देखिएको छ । यसको अर्थ बैंकहरूसँग कर्जा दिन सक्ने क्षमता पर्याप्त भए पनि माग कमजोर रहेको बताउँछ ।

अहिले बैंकिङ प्रणालीमा करिब ५७ अर्ब रुपैयाँ बराबरको अतिरिक्त तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । तर यो तरलता उत्पादनशील क्षेत्रमा प्रवाह हुन नसक्दा बैंकहरूले अतिरिक्त पैसा राष्ट्र बैंकमै राख्नुपर्ने अवस्था बनेको छ । यसले बैंकमा पैसा भए पनि अर्थतन्त्रमा त्यसको सक्रिय प्रयोग हुन नसकेको देखाउँछ ।

बैंकहरूमा निक्षेप बढ्दै जाँदा कर्जा विस्तार नहुँदा संकलित रकमको ठूलो हिस्सा पुनः राष्ट्र बैंकमै फर्किरहेको केन्द्रिय बैंक सम्बद्ध कर्मचारीहरू बताउँछन् । बैंकहरूले स्थायी निक्षेप सुविधा लगायतका उपकरणमार्फत पैसा केन्द्रीय बैंकमै राखिरहेको राष्ट्र बैंककी सुचना अधिकारी सुधा श्रेष्ठ बताउँछिन् । राष्ट्र बैंकले लगानी विस्तार गर्ने सबै प्रयास गरेपनि बजारको अवस्थाले बैंकिङ प्रणालीभित्र पैसा भए पनि लगानीका अवसर कमजोर बनेको उनको भनाई छ ।

अर्थतन्त्रका जानकारहरूका अनुसार अहिले देखिएको मुख्य समस्या तरलताको अभाव होइन, बरु लगानीको माग कमजोर हुनु हो । बैंकसँग पैसा पर्याप्त भए पनि त्यसलाई उपयोग गर्ने व्यवसायिक वातावरण कमजोर हुँदा कर्जा विस्तार हुन सकेको छैन ।
निजी क्षेत्रको मनोबल कमजोर हुनु लगानी माग घट्नुको मुख्य कारणका रूपमा देखिएको सरोकारवालाहरूको भनाई छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यका अनुसार अहिले लगानी गर्दा लगानी सुरक्षित हुने र नाफासुनिश्चित हुने अवस्था छैन, बजार माग कमजोर छ । यसले गर्दा ठूलो लगानी विस्तार गर्ने भन्दा पनि धेरै व्यवसायीहरू पर्ख र हेरको अवस्थामा छन् । उद्योगहरू अहिले लगानी र उत्पादन विस्तारमा नभएर केवल सञ्चालन कायम राख्ने अवस्थामा रहेको उनको भनाई छ ।

उद्योग क्षेत्रमा पनि निराशाजनक अवस्था रहेकोले वर्षान्तमा पनि कर्जा विस्तार हुन सकेको छैन । नेपाल जुुट उद्योग संघका कोषाध्यक्ष मोहन राठीका अनुसार अहिले लिएको कर्जा उत्पादन क्षमता बढाउन नभएर दैनिक सञ्चालन खर्च धान्न प्रयोग भइरहेको छ । सामान्य अवस्थामा यस्तो कर्जा उत्पादन विस्तारका लागि प्रयोग हुनुपर्ने भए पनि अहिले त्यसको उपयोग उल्टो दिशामा भइरहेको छ ।

“अहिले केही उद्योगहरू बन्द भइसकेका छन् भने बाँकी उद्योगहरू पनि कम क्षमतामा सञ्चालन भइरहेका छन्” राठीले भने । बजारमा माग घटेको र लागत बढेको कारण उद्योगहरू नयाँ लगानी गर्न सक्ने अवस्थामा छैनन् ।

यसका साथै कर्जा विस्तार नहुनुको अर्काे कारण विगतमा प्रवाह भएको कर्जा उत्पादनमूलक क्षेत्रमा भन्दापनि घरजग्गा र सेयर बजारमा केन्द्रित हुनु भएको विज्ञहरूको भनाई छ । बैंकिङ तथ्यांकअनुसार कर्जाको ठूलो हिस्सा अझै पनि घरजग्गा धितोमा आधारित छ । कुल कर्जामध्ये करिब ६३ प्रतिशत घरजग्गा धितोमा आधारित रहेको देखिन्छ । यसले अझै पनि बैंकिङ्ग क्षेत्र उत्पादनमुलक भन्दा पनि लगानी सुरक्षित गर्नेतिर केन्द्रित भएको देखिन्छ । विगत देखि नै यस्तो अवस्था कायम रहँदा र उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी हुन नसक्दा अहिले अधिक तरलताको अवस्था आएको अर्थविद तथा केन्द्रिय बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

त्यस्तै, आयातका लागि प्रयोग हुने कर्जा पनि बढिरहेको छ । चालु आर्थिक वर्षमा यस्तो कर्जा ३६ प्रतिशतले बढेको छ । यसले अर्थतन्त्रमा उत्पादनभन्दा व्यापार र आयात बढी सक्रिय रहेको देखाउँछ । क्षेत्रगत रूपमा हेर्दा कर्जा विस्तार उपभोग क्षेत्रमा १२.३ प्रतिशत, सेवा क्षेत्रमा १०.९ प्रतिशत र निर्माण क्षेत्रमा १२.८ प्रतिशतले मात्र बढेको देखिन्छ । कृषि क्षेत्रजस्तो उत्पादनशील क्षेत्रमा भने कर्जा घटिरहेको छ । तुलना अवधिमा कृषि क्षेत्रको कर्जा प्रवाहमा २.३ प्रतिशतले गिरावट आएको छ । कृषि क्षेत्र नेपालको अर्थतन्त्रको आधार भए पनि यसतर्फ लगानी घट्नु भविष्यका लागि जोखिमपूर्ण हुने अर्थविद्हरूको भनाई छ ।

कर्जा विस्तार सुस्त हुनु केवल बैंकिङ क्षेत्रको समस्या मात्र नभई समग्र अर्थतन्त्रको मनोबलसँग जोडिएको विषय भएको वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउँछन । निजी क्षेत्रले भविष्यप्रति विश्वास गर्न नसक्दा लगानी विस्तार हुन नसकेको देखिन्छ ।

अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको विश्वास बढाउनु, नीति स्थिर राख्नु र उत्पादनशील क्षेत्रमा लगानी प्रोत्साहन गर्नु आवश्यक देखिएको अधिकारी बताउँछन् । यी पक्षमा सुधार नभएसम्म बैंकमा पैसा भए पनि वास्तविक उत्पादन र रोजगारी वृद्धि हुने सम्भावना कमजोर रहने उनको भनाई छ ।

वर्ष अन्त्यतिर पनि लगानीको माग कमजोर रहनु अहिलेको अर्थतन्त्रको मुख्य समस्या बनेको छ । बैंकमा पैसा पर्याप्त भए पनि त्यसको प्रयोग नहुँदा आर्थिक गतिविधि अपेक्षित रूपमा विस्तार हुन सकेको छैन ।

यस्तै सरकारको पूँजीगत खर्च न्यून हुँदा पनि कर्जा प्रवाहमा सुधार आउन नसकेको जानकारहरूको भनाई छ । चालु आर्थिक वर्ष सकिन २० दिन मात्र बाँकी रहँदा सरकारको पूँजीगत खर्च करिब ३५ प्रतिशत मात्रै पुगेको छ । यसले गर्दा बजारमा पूँजी परिचालन नभएको र अर्थतन्त्र सुस्त बनेको विज्ञहरूको भनाई छ । अधिक तरलता भयो भन्दै अझैपनि हचुवाको भरमा अनुत्पादक क्षेत्रमा कर्जा लगानी भएमा भविष्यमा अझै चिन्ताजनक अवस्था आउने विज्ञहरूको मत छ ।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार  ०७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।