कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो


कैलाली । कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली नदीमा झुलुङ्गे पुल निर्माण भएपछि आन्तरिक पर्यटकको घुइँचो बढेको छ ।

केही दिनअगाडि मात्रै पुलको काम सम्पन्न भएर आवागमन सञ्चालन भएपछि कर्णाली नदी, आसपासका फाँटको सुन्दरता अवलोकन गर्न तथा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो ।

“गर्मी बढी छ, साँझको समयमा शीतलताका लागि पुलको अवलोकन गर्न जान्छौँ”, टीकापुर ५ का किरण चौधरीले भने, “यहाँ सोचेभन्दा बढीको सङ्ख्यामा आगन्तुकको घुइँचो हुँदोरहेछ ।”

पुलमा तस्बिर लिन तथा श्रव्यदृश्य सामग्री बनाउनेलाई व्यावसायिक फोटोग्राफरका रूपमा सेवा दिँदै आइएको उनले बताए। “पहिले टीकापुर पार्क, बर्दियाको इन्टेक क्षेत्रमा फोटोग्राफीको काम गर्दै आएका थियौँ”, बर्दियाका राजेश चौधरीले भने, “केही दिनदेखि यहाँ पुल अवलोकन गर्न आउने पर्यटकको आगमन बढेसँगै प्रशस्त आम्दानी पनि भइरहेको छ, अन्यत्र जानु परेको छैन ।”

पुल बनेपछि आन्तरिक पर्यटकका लागि मात्रै नभई कैलालीको टीकापुर र बर्दियाको राजापुरसँगको दूरी नजिकिएको छ । पुल बनेपछि करिब २४ किलोमिटरको दूरी १५ किमीमा छोटिएको छ भने डुङ्गामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता सधैका लागि हटेको छ ।

प्रकाशित मिति: १४ असार २०८३, आइतबार  १२ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।