जेठसम्म निर्जीवन बीमा कम्पनीले कुन क्षेत्रबाट कमाए कति ?


काठमाडौँ । निर्जीवन बीमा कम्पनीले जेठसम्म ४५ अर्ब ५८ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन् ।

नेपाल बीमा प्राधिकरणक अनुसार चालु आर्थिक वर्ष २०८२।८३ को जेठसम्म निर्जीवन बीमकहरुले ४५ अर्ब ५८ करोड ३४ लाख रुपैयाँको कुल बीमाशुल्क संकलन गरेका छन् ।

त्यसमध्ये १४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमकले मोटर बीमातर्फ १३ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ व्यापार भित्र्याएका छन् । जसको कुल व्यापारमा बीमाको सर्वाधिक ३०.२५ प्रतिशत हिस्सा देखिएको छ ।

यस्तै, कम्पनीहरुले दोस्रो धेरै व्यापार सम्पत्ति बीमाबाट भित्र्र्याएका छन् । समीक्षा अवधिसम्म कम्पनीहरुले सम्पत्ति बीमातर्फ १० अर्ब ७७ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यसैगरी तेस्रो धेरै व्यापार कम्पनीहरुले इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामार्फत भित्र्याएका छन् । यो क्षेत्रबाट कम्पनीहरुले ८ अर्ब ६३ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

चालु आर्थिक वर्षको जेठसम्म कम्पनीहरुले विविध बीमातर्फ ४ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ, सामुद्रिक बीमातर्फ २ अर्ब ८० करोड ४० लाख रुपैयाँ कमाएका छन् ।

हवाई बीमातर्फ २ अर्ब २८ करोड ४८ लाख रुपैयाँ, कृषि तथा बाली बीमातर्फ १ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ र लघु बीमातर्फ १ अर्ब २० करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यसैगरी कुल व्यापारमा सम्पत्तितर्फ २३.६३ प्रतिशत, इन्जिनियरिङ तथा ठेक्का जोखिमतर्फ १८.९४ प्रतिशत, विविधतर्फ १० प्रतिशत, सामुद्रिकतर्फ ६.१५ प्रतिशत, हवाईतर्फ ५.०१ प्रतिशत, कृषि तथा बालीतर्फ ३.३७ प्रतिशत र लघुतर्फ २.६५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार  १३ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।