काठमाडौँ । विश्व अर्थतन्त्र अहिले विभिन्न चुनौतीसँग जुधिरहेको छ । रुस–युक्रेन युद्धको प्रभाव समाप्त हुन नपाउँदै पश्चिम एसियामा चर्किएको द्वन्द्वले विश्व अर्थतन्त्रमा नयाँ दबाब सिर्जना गरेको हो ।
ऊर्जा बजारमा देखिएको अस्थिरता, बढ्दो मूल्यवृद्धि, व्यापारिक अनिश्चितता र कमजोर लगानी वातावरणका कारण धेरै विकसित मुलुकको आर्थिक वृद्धि सुस्त बन्दै गएको नेपाल राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको समष्टिगत आर्थिक प्रतिवेदन विश्लेषण र दृष्टिकोण जुलाई २०२६ ले वर्तमान अवस्थामा विश्व अर्थतन्त्रलाई बलियो बनाइराख्ने मुख्य आधार भारत र चीनजस्ता उदाउँदा अर्थतन्त्र भएका मुलुक बनेको दाबी गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२६ मा विकसित अर्थतन्त्रको आर्थिक वृद्धि करिब २ प्रतिशतको हाराहारीमा सीमित रहने अनुमान गरिएको छ । यसको विपरीत उदाउँदा अर्थतन्त्र भएका मुलुकहरू चिन र भारतको आर्थिक वृद्धि करिब ४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । यसले विश्व आर्थिक वृद्धिको नेतृत्व अहिले विकसित मुलुकबाट उदाउँदा अर्थतन्त्र भएका मुलुकतर्फ सर्दै गएको संकेत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदन अनुसार भारतले सन् २०२६ मा करिब ६.३ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको छ । चीनको आर्थिक वृद्धि करिब ४.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । अहिले विश्वका धेरै ठूला अर्थतन्त्र सुस्ताइरहेको केन्द्रिय बैंकको भनाई छ । यस्तो अवस्थामा यी दुई देशले तुलनात्मक रूपमा उच्च वृद्धि कायम राख्ने भएकाले विश्व अर्थतन्त्रलाई मन्दीमा जानबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने राष्ट्र बैंकको विश्लेषण छ ।
विश्व अर्थतन्त्रमा देखिएको यो परिवर्तनले नेपालजस्तो सानो र खुला अर्थतन्त्रका भएको मुलुकको लागि पनि विशेष अर्थ राख्ने जानकारहरू बताउँछन् । नेपालको अर्थतन्त्र भारतसँग सबैभन्दा बढी जोडिएको अवस्थामा चीनसँगको व्यापार, पूर्वाधार विकास, पर्यटन र लगानीका गतिविधि पनि विस्तार हुँदै गएका छन् । त्यसैले भारत र चीनको आर्थिक गतिविधिमा आउने परिवर्तनले नेपालमा प्रत्यक्ष वा अप्रत्यक्ष असर पार्ने देखिन्छ ।
भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुक हो । नेपालको अधिकांश आयात भारतबाट हुने गरेको छ भने निर्यातको ठूलो हिस्सा पनि भारतीय बजारमै जाने गरेको छ । पेट्रोलियम पदार्थदेखि खाद्यान्न, औद्योगिक कच्चा पदार्थ र दैनिक उपभोगका धेरै वस्तु भारतबाट आयात हुने भएकाले भारतीय अर्थतन्त्रको अवस्था नेपालसँग प्रत्यक्ष रूपमा जोडिएको देखिन्छ ।
भारतीय अर्थतन्त्र बलियो हुँदा उद्योग, निर्माण, सेवा र उपभोग क्षेत्र विस्तार हुन्छ । त्यसले नेपाली उत्पादनको माग बढाउन सहयोग पुग्न सक्छ । सीमा क्षेत्रमा व्यापारिक गतिविधि बढ्दा पर्यटन, होटल, यातायात र सेवा क्षेत्रले पनि त्यसबाट लाभ लिन सक्ने सम्भावना रहने विज्ञहरूको बुझाई छ । नेपालमा लगानी गर्न चाहने भारतीय व्यवसायीको रुचि समेत बढ्न सक्ने अर्थविद्हरूको भनाइ छ ।
चीनको आर्थिक वृद्धिले पनि नेपाललाई विभिन्न क्षेत्रमा अवसर दिने देखिन्छ । चीनसँग जोडिएका पूर्वाधार आयोजना, सीमापार व्यापार, पर्यटन तथा लगानी विस्तारका लागि सकारात्मक वातावरण निर्माण हुन्छ । चिनियाँ अर्थतन्त्र विस्तार हुँदा अन्तर्राष्ट्रिय व्यापार र उत्पादन शृङ्खलामा सुधार आउन सक्ने भएकाले त्यसको प्रत्यक्ष र परोक्ष लाभ नेपालले पनि लिन सक्ने विज्ञहरूको बुझाई छ ।
अर्थविद् कृष्णहरि बास्कोटाका अनुसार भारत र चिनको आर्थिक वृद्धि उच्च हुँदा ती मुलुकहरूमा औद्योगिक उत्पादन बढ्छ । जसले नेपालबाट हुने कच्चा पदार्थको निर्यात बढाउनुका साथै नेपाललीले उचित रोजगारीको सुविधा पनि पाउँछन् । बास्कोटा भन्छन्, “ठुलो रुखको छाहारीमा बस्दा पानी पर्दा ओत मिल्छ भने चर्काे घाममा छाहारी त्यस्तै छिमेकी मुलुक आर्थिक रुपमा सबल बन्दा नेपाल जस्तो तेस्रो देशसँग सिधा व्यापार सम्बन्ध नभएको मुलुकको लागि फाइदा नै हुन्छ ।” विश्वको कुल जनसंख्याको करिब ४० प्रतिशत भनद्या बढी हिस्सा यी दुई मुलुकमा रहेको अवस्था आर्थिक रुपमा सबल हुँदा उनीहरूको उपभोग बढ्ने हुँदा नेपालको निर्यात व्यापारमा सुधार आउन सक्ने उनको बुझाई छ । भारत र चिन आर्थिक रुपमा बलियो बन्दै जाँदा त्यहाँका नागरिक धनी बन्दा उनीहरुमा घुम्ने रहर बढ्ने उनको विश्वास छ । त्यसो हुँदा नेपालले पर्यटन विकासमा जोड दिन सकेकोमा पर्यटन मार्फत नेपालले पनि आर्थिक उन्नति हासिल गर्न सक्ने बास्कोटाको बुझाई छ ।
तर अवसरसँगै केही चुनौती पनि जोडिएका छन् । विश्व आर्थिक वृद्धिको मुख्य आधार सीमित मुलुकमा केन्द्रित हुनु दीर्घकालीन रूपमा जोखिमपूर्ण मानिन्छ । यदि भारत वा चीनको आर्थिक वृद्धि कुनै कारणले अपेक्षाभन्दा कमजोर भयो भने त्यसको प्रभाव विश्व व्यापार, लगानी, वित्तीय बजार र उत्पादन प्रणालीमा एकैपटक देखिन सक्ने विज्ञहरू बताउँछन् । त्यसको असर नेपालजस्ता मुलुकमा पनि पर्ने उनीहरूको भनाई छ ।
नेपाल राष्ट्र बैंकले विश्व अर्थतन्त्रमा बढ्दो भूराजनीतिक तनावले अनिश्चितता बढाएको उल्लेख गरेको छ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य प्रतिव्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको केन्द्रिय बैंकको भनाई छ । तेलको मूल्यमा आएको वृद्धिले ढुवानी खर्च, उत्पादन लागत र दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने जोखिम अझै कायम रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तो अवस्थामा भारत र चिनले पनि पेट्रोलियम पदार्थ खाडीबाट नै आयात गर्ने हुँदा नेपालमा पनि त्यसको असर स्वभाविक रुपमा देखिन्छ ।
थप चुनौती र नेपालले चाल्नुपर्ने कदम
ऊर्जा बजारमा देखिएको अस्थिरताका कारण अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२६ का लागि विश्वव्यापी मूल्यवृद्धिको अनुमान पनि बढाएको छ । मूल्यवृद्धि अपेक्षाभन्दा धेरै समयसम्म उच्च रहेमा विश्वका केन्द्रीय बैंकले ब्याजदर छिट्टै घटाउने सम्भावना कम रहने राष्ट्र बैंकको भनाई छ । यसले ऋणको लागत उच्च रहने, निजी लगानी विस्तार सुस्त हुने र आर्थिक गतिविधि अपेक्षाअनुसार अघि नबढ्ने जोखिम रहने प्रतिवेदनमा औँल्याइएको छ ।
नेपालको अर्थतन्त्रको लागि अर्को चिन्ताको विषय विप्रेषण भएको राष्ट्र बैंकको भनाई छ । नेपाली श्रमिक भारतसहित विभिन्न मुलुकमा कार्यरत छन् । भारतको अर्थतन्त्र बलियो रहँदा रोजगारीको अवसर कायम रहने र त्यसले विप्रेषण प्रवाहलाई सहयोग गर्न सक्छ । यद्यपि पश्चिम एसियामा आर्थिक गतिविधि सुस्त भए त्यहाँ कार्यरत नेपाली श्रमिकको आय र रोजगारीमा असर पर्न सक्ने भएकाले विप्रेषणमा समेत दबाब पर्न सक्ने जोखिम रहेको प्रतिवेदनले जनाएको छ ।
अर्थविद्हरूका अनुसार भारत र चीनको आर्थिक वृद्धि नेपालका लागि आफैँमा पर्याप्त उपलब्धि भने होइन । त्यसबाट लाभ लिन नेपालले आफ्नै उत्पादन क्षमता बढाउनुपर्ने, निर्यातयोग्य वस्तुको गुणस्तर सुधार गर्नुपर्ने, उद्योगमैत्री वातावरण तयार गर्नुपर्ने तथा व्यापार सहजीकरणमा सुधार गर्नुपर्ने आवश्यकता छ । त्यसका साथै पर्यटन, ऊर्जा, कृषि प्रशोधन र सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी बढाउन सके भारत र चीनको तीव्र आर्थिक वृद्धिबाट नेपालले उल्लेखनीय लाभ लिन सक्ने उनीहरूको भनाइ छ ।
नेपालले छिमेकी मुलुकसँगको आर्थिक सम्बन्धलाई व्यापारमा मात्र सीमित नराखी उत्पादन, लगानी, प्रविधि हस्तान्तरण र पूर्वाधार विकाससँग जोड्नुपर्ने आवश्यकता देखिएको छ । यसो गर्न सके विश्व आर्थिक वृद्धिको केन्द्र एसियातर्फ सर्दै गएको वर्तमान अवस्थाबाट नेपालले दीर्घकालीन लाभ लिन सक्ने आधार तयार हुने विज्ञहरूको मत छ ।
विश्व अर्थतन्त्र अहिले अनेक चुनौतीबीच अघि बढिरहेको भए पनि भारत र चीनजस्ता उदाउँदा अर्थतन्त्रले त्यसलाई गति दिइरहेका छन् । विकसित मुलुकको वृद्धि सुस्ताइरहेको अवस्थामा विश्व अर्थतन्त्रको आशा यी मुलुकमै केन्द्रित भएको देखिन्छ । नेपाले यो अवस्थालाई आफ्नो अर्थतन्त्र सबल बनाउने कडीको रुपमा लिनुपर्नेमा जानकारहरूले जोड दिएका छन् । छिमेकी मुलुकको आर्थिक विस्तारलाई आफ्नै आर्थिक विकाससँग जोड्न सके मात्र नेपालको अर्थतन्त्र सबल हुने विज्ञहरूको मत छ ।










प्रतिक्रिया