खाना पकाउने ग्यासको चरम अभाव, पुरा सिलिण्डर ग्यास बिक्री गरेकोले समस्या आएको निगमको भनाइ


काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाका उपभोक्ताले खाना पकाउने ग्यास अभाव सिर्जना भएको छ । सरकारले भरी सिलिन्डर बजार पठाउन थालेको दुई साता नबित्दै उपभोक्ताले ग्यास अभावको सामना गर्नुपरेको हो ।

ग्यास अभाव भएपछि उपभोक्ताहरू डिलरमै पुगेर खाली सिलिन्डर लाइनमा राख्न बाध्य भएका छन् । एउटा ग्यास साट्न मात्रै पनि हप्तौंसम्म कुर्नुपरेको उपभोक्ताहरुको गुनासो छ ।

यसअघि पनि गत माघ अन्तिमतिरबाट बजारमा ग्यास अभाव भएको थियो । अभाव तिव्र देखिएपछि नेपाल आयल निगमले २०८२ फागुन अन्तिमतिरबाट आधामात्र भरिएको (७.१ किलो) सिलिन्डर बेच्ने व्यवस्था मिलाएको थियो । तर, विगत २ सातादेखि फेरि पूरै भरिएको सिलिन्डर बाँड्न थालेपछि एक्कासि ग्यासको माग बढेर अभाव सिर्जना भएको बिक्रेताहरु बताउँछन् ।

एकातिर उपभोक्ताहरुले ग्यास नपाएर डिपोमा लाइन बस्नुपरेको छ भने अर्कोतिर निगमले बजारमा ग्यासको कुनै अभाव नरहेको दाबी पटकपटक गर्दै आएको छ । शान्तिनगर बसोबास गर्दै आएकी प्रमिलाले एक सातादेखि ग्यास नपाएको बताएकी छन् ।

एक सातादेखि कहिले डिपोमा फोन गर्ने त कहिले आफै डिपो पुग्दा पनि ग्यास नपाएपछि उनी चिन्तित बनेकी छन् । ‘ग्यासको लागि डिपो धाएको एक साता भइसक्यो अझै ग्यास पाएको छैन ।’ उनले भनिन्, ‘आफुसँग २ सिलिन्डर भएपनि हाल चलाइरहेको ग्यास आधा सिलिन्डर जोडेको त्यो सकिने बेला भईसक्यो, अर्को पाइदैन ।’

त्यस्तै, तारकेश्वर निवासी सुमित्राले पनि एक साता डिपो धाएर खाना पकाउने ग्यास ल्याएको बताएकी छन् । ‘एक सातादेखि ग्यासको लागि डिपो धाएको बल्ल पाए ।’ उनले भनिन्, ‘पहिले त फोन गरेकै भरमा ग्यास आउने गरेको थियो, अहिले त आफै जाँदा पनि डिपोमा ग्यास नै छैन भन्छन् ।’

एक साता देखि बिहान बेलुका गए, दिउँसोमा त आफु काममा जानुपर्ने बल्ल शनिबार चाँही बिहानैदेखि गएर २-३ घण्टा लाइन बसेर ग्यास ल्याएको उनले बताइन् ।

चार महिनासम्म आधा ग्यास प्रयोग गरेका उपभोक्ताका अधिकांश सिलिण्डर अहिले एकै समयमा खाली भएपछि पर्याप्त ग्यास आयात भइरहेको अवस्थामा पनि बजारमा अभावको अवस्था देखिएको नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष दिवान चन्दले बताएका छन् ।

‘हाल मुलुकमा ग्यासको आयात घटेको छैन, विगतमा मासिक ४५–४६ हजार मेट्रिकटन आयात हुने गरेकोमा अहिले ५० देखि ५२ हजार मेट्रिक टनसम्म ग्याँस भित्रिरहेको छ ।’ उनले भने, ‘चार महिनासम्म १४.२ किलोग्राम क्षमताको पूर्ण सिलिण्डर वितरण रोकिंदा आधा प्रयोग भएका सिलिण्डर क्रमशः खाली हुँदै गएको अवस्था छ ।’

उनका अनुसार, पहिले ४५–४६ हजार मेट्रिकटन आयात हुँदा पुग्थ्यो, अहिले ५०–५२ हजार मेट्रिकटन आउँदा पनि पुगेको छैन । बजार पूर्ण रूपमा सामान्य हुन अझै करिब दुई महिना लाग्ने उनले जानकारी दिए ।

चार महिनाअघि नै उद्योगीहरूले पूरा सिलिण्डर ग्यास वितरण गर्न सरकारलाई आग्रह गरेको तर मन्त्रालयले माथिल्लो तहको निर्देशन भन्दै निर्णय गर्न ढिलाइ गरेको चन्दले दाबी गरे ।

अहिले ग्यास नपाएर सबैभन्दा बढी मारमा विद्यार्थी र एउटामात्र सिलिन्डर हुने साना परिवार परेको उनको भनाई छ ।
पछिल्लो समय ग्यास अभाव कृत्रिम नभई नीतिगत व्यवस्थापनको परिणाम भएको ग्यास विक्रेता महासंघका उपाध्यक्ष विष्णुप्रसाद दुलालले बताए ।

‘चार महिनासम्म आधा सिलिण्डर वितरण हुँदा बजारमा सामान्यभन्दा धेरै सिलिण्डर परिचालन भए ।’ उनले भने, ‘पूर्ण सिलिण्डर वितरण सुरु भएपछि उपभोक्ताले एकैपटक भरी सिलिण्डर माग्न थालेका कारण अभाव भएको हो ।’

उनका अनुसार, उपभोक्ताहरू भरी सिलिण्डर कुरेर बसेका रहेछन् । चार महिनासम्म हाफ वितरण हुँदा अत्यधिक सिलिण्डर बजारमा गयो, अहिले सबैले एकैपटक भरी ग्यास खोजेपछि एकैपटक दिन सकिएको छैन जसका कारण अभावको सिर्जना भएको उनको भनाई छ ।

आधा सिलिन्डरबाट भरि सिलिन्डर अर्थात् १४.२ किलोग्राम ग्यासको वितरण सुरू भए लगत्तै बजारमा ग्यासको अभाव देखिएको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुर बताए ।

‘विगत चार महिनादेखि ७.१ किलोग्राम ग्यास वितरण गरेपछि बजारमा ग्यासको आपूर्ति सहज भएको थियो ।’ उनले भने,‘तर भरि सिलिन्डरमा गएपछि बजारमा अभाव देखिएको हो ।’

उनका अनुसार, विगतको समयमा ग्यास खपतको तथ्यांक र हालको आपुर्ति भईरहेको तथ्यांक हेर्दा अभाव हुने अवस्था छैन, तर उपभोक्ताले आवश्यकताभन्दा बढी माग गर्दा अभाव देखिएको हो । त्यसकाण अहिलेको अभाव लामो समय नजाने उनको दाबी छ ।

आयल निगमको असक्षमताका कारण बारम्बार ग्यासको अभाव हुने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताएका छन् ।

उनका अनुसार यस्तो अवस्थामा सरकारले आपूर्ति सहज बनाउनुपर्नेमा उल्टै प्रशासनिक कडाइ बढाउँदा समस्या झन् जटिल बनेको छ । त्यसको प्रत्यक्ष असर उपभोक्तामा परेको उनले बताए ।

काठमाडौँ उपत्यकामा ग्याँसको उच्च मागलाई मध्यनजर गर्दै निगमले साउन १६ गतेदेखि टेकुस्थित आफ्नो कार्यालयबाट समेत ग्याँस बिक्री वितरणको व्यवस्था मिलाएको छ । निगमका अनुसार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म सम्बन्धित उद्योगमार्फत नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डरहरू वितरण गरिनेछ । तर यसरी वितरण गर्दा सम्पूर्ण उपभोक्ताहरु कार्यालयमा पुग्न असहज हुने गरेको छ ।

उपभोक्ताहरुलाई सहज बनाउनका लागि नजिकैको डिपोमा पाउनेपर्ने व्यवस्था मिलाउन उपभोक्ता अधिकारकर्मी तिमल्सिनाले बताएका छन् ।

प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार  ११ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।