नाइमा एक्स्पोमा गाडी किन्न कुन बैंकले कतिमा दिन्छन् कर्जा ?


काठमाडौँ । भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा बैंकहरुले सहुलियत रुपमा ऋण उपलब्ध गराउने भएका छन् ।

५६ बढी ब्रान्ड र ४० कम्पनीको सहभागिता रहेको एक्स्पोमा ३ ठूला वाणिज्य बैंकहरुले सहज र सहुलियत रुपमा ऋण दिने भएको हुन् ।

बैंकहरुले गाडी किन्न ग्लोबल आईएमई बैंक, एनएमबि बैंक र सिद्धार्थ बैंकले न्यूनतम ५.२५ प्रतिशत ब्याजमै ऋण दिएका छन् ।

ग्लोबल आईएमई बैंकले एक्पोमा बुकिङ हुने वा खरिदबिक्री हुने गाडीमा आधार दर (बेसरेट) मा ०.५ प्रतिशत विन्दुले ब्याज गरेर ऋण दिने व्यवस्था गरेको छ । हाल बैंकको आधार दर ४.७५ प्रतिशत रहेको छ । गतिशील प्रणालीको यो दरमा अहिले ऋण लिँदा जम्मा ५.९९ देखि ८.९९ प्रतिशतमा ३ वर्षदेखि ७ वर्षको अटो कर्जा दिने भएको हो ।

यस्तै, सिद्धार्थ बैंकले आधार दरमा न्यूनतम १ प्रतिशत विन्दुले ब्याज गरेर ऋण दिने भएको छ । असार मसान्तमा ५.०५ प्रतिशत आधार दर रहेको छ । यस अनुसार बैंकले यसमा प्रिमियम थप गरी ६.०५ प्रतिशतमा अटो कर्जा प्रवाह गर्ने बताएको छ ।

त्यस्तै, एनएमबि बैंकबाट ऋण लिँदा ५.६१ प्रतिशत ब्याज तिर्नुपर्छ । बैंकले पनि आधार दरमा ०.५० प्रतिशत विन्दुले ब्याज गरेर ऋण दिने व्यवस्था गरेको छ । बैंकको गत असार महिनासम्मको आधारदर भने ५.११ प्रतिशत रहेको छ ।

बैंकले रि कन्डिसन गाडिका लागि बेसरेट १ प्रतिशत थप गरी कर्जा दिने बताएको छ । यो सुविधा नाइमा एक्स्पा अवधिभर अर्थात् साउन ३१ गतेसम्म मात्र लागू हुनेछ ।

प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार  १४ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।