काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले बिहीबार पद तथा गोपनीयताको शपथ लिएसँगै पदबहाली गरेका छन्।
रावलले राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलसमक्ष शपथ लिएका हुन्। नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका थिए।
शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए।
रावलले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा राष्ट्र बैंक सेवा प्रवेश गरेका थिए। त्यसपछि २०६९ मा उपनिर्देशक, २०७५ मा निर्देशक हुँदै २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए।
कार्यकारी निर्देशक भएपछि रावलले राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको नेतृत्व गर्दै आएका थिए। राष्ट्र बैंकभित्रकै लामो अनुभवसहित उनी डेपुटी गभर्नरको जिम्मेवारीमा पुगेका हुन्।
रावलको नियुक्तिसँगै राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा नेतृत्व संरचना थप पूर्ण भएको छ।





प्रतिक्रिया