काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा जनजीवन, पूर्वाधार तथा सार्वजनिक एवं निजी सम्पत्तिमा पुगेको व्यापक क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गहिरो दुःख व्यक्त गरेको छ।
एसोसिएसनका अनुसार प्रारम्भिक विवरणमा बाढीबाट सडक तथा पुल, विद्युत् तथा सञ्चार पूर्वाधार, सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना, सरकारी तथा सुरक्षा निकायका संरचनालगायत महत्वपूर्ण भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ। इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी रसुवागढीसमेत प्रभावित भएका छन्।
घटनाको पूर्ण विवरण आउन बाँकी रहेकाले मानवीय, भौतिक तथा आर्थिक क्षति अझ बढ्न सक्ने अवस्थाप्रति नाइमाले चिन्ता व्यक्त गरेको छ।यस कठिन परिस्थितिमा प्रभावित नागरिक, परिवार, व्यवसायी, सुरक्षाकर्मी तथा स्थानीय समुदायप्रति सहानुभूति व्यक्त गर्दै एसोसिएसनले खोज, उद्धार तथा राहत कार्यमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय प्रशासन तथा सम्पूर्ण उद्धारकर्मीप्रति उच्च सम्मान व्यक्त गरेको छ।
भोटेकोशी तथा त्रिशूली नदी प्रणालीसँग जोडिएका क्षेत्रमा अझै जोखिम रहन सक्ने भन्दै नाइमाले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत सम्भावित प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन तथा सम्बन्धित निकायबाट जारी सुरक्षा सूचना र निर्देशन पालना गर्न आग्रह गरेको छ।
एसोसिएसनले प्रभावित समुदायसँग साथमा रहँदै उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासमा सम्बन्धित सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न आफूहरू तयार रहेको जनाएको छ। साथै, नाइमाले प्रभावित क्षेत्रको शीघ्र पुनःस्थापना तथा सबैको सुरक्षाको कामना गरेको छ।





प्रतिक्रिया