रसुवा भन्सार : करिब ३०० सवारी साधन बगे, १५ कर्मचारीहरु अझै सम्पर्कमा छैनन् !


काठमाडौँ । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा बुधबार बिहान आएको आकस्मिक बाढीले यार्डमा रहेका करिब ३०० सवारीसाधन बगाएको छ । भन्सार छुटाउन ठिक्क पारिएका करिब २०० विद्युतीय गाडी (ईभी) र करिब १०० वटाजति मालवाहक ट्रक बगाएको भन्सार प्रमुख राजेन्द्र ढुंगानाले बताएका छन् ।

नजिकिँदै गरेका चाडपर्व लक्षित गरी चीनबाट आयात गरिएका अर्बौं मूल्य बराबरका मालसामान, सयौँ मालवाहक कन्टेनर र त्यहाँ कार्यरत व्यवसायी, भन्सार एजेन्ट तथा यातायात मजदुर बाढीको मारमा परेका छन् ।

‘बस्तीसँगै कार्यालय, यार्ड आसपासका पूरै क्षेत्र बगर बनेको छ ।’ उनले भने, ‘हिजोसम्म सञ्चालनमा रहेको भन्सारको आज केही छैन ।’ बाढीका कारण भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन रहेका उनले जानकारी दिए ।

उनका अनुसार, बाढी आएको थाहा पाउनेबित्तिकै कर्मचारीहरू ज्यान जोगाउन डाँडातिर उकालो लागेका थिए । एक मिनेटभित्रै टिमुरे बजार र भन्सार यार्ड बाढीले ध्वस्त पारेको थियो ।

बाढीले रसुवाको टिमुरेस्थित भन्सार यार्डलाई पूर्णरूपमा तहसनहस बनाएको छ भने यसको प्रभाव रसुवाका तल्लो तटीय क्षेत्रसहित नुवाकोट, धादिङ, गोरखा, चितवन लगायत जिल्लामा समेत परेको छ ।

चीनतर्फबाट सामान नेपाल भित्रिँदै गरे पनि वर्षायामका कारण नेपालतर्फको सडक भने ठाउँ–ठाउँमा बिग्रिएका कारण काठमाडौंतर्फ सामान ढुवानी गर्न नसकिने अवस्था भएको थियो । जसकारण भन्सार यार्डमा ठूलो परिमाणमा मालसामान र कन्टेनर रोकिएर बसेका थिए ।

रसुवागढी नाकामा सामान ढुवानीका लागि पुगेका २०० भन्दा बढी ट्रक बाढीले बगाएको अनुमान रहेको नेपाल हिमालय सीमापार वाणिज्य संघ अध्यक्ष रामहरि कार्कीले बताएका छन् ।

‘चाँडपर्वका लागि सामान आयात गर्ने समय रहेको थियो ।’ उनले भने, ‘भन्सार यार्डका २ सयभन्दा बढी मालवाहक गाडी रहेको थियो, त्यो सबै बगाएको खबर आएको छ ।’

त्यहाँ गएका चालक र कामदारहरू सम्पर्कविहीन रहेको उनको भनाई छ ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार  १३ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।