काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बिहीबार जारी गरेको विज्ञप्तिमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ । बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
नाडाले विपद्को यस घडीमा राज्यसँग काँधमा काँध मिलाएर उभिनु सबै नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै देशभरका अटोमोबाइल व्यवसायीलाई एकजुट भएर उद्धार र राहत अभियानमा सहयोग गर्न आह्वान गरेको छ । सुरक्षा निकाय, स्थानीय प्रशासन र सरकारी संयन्त्रले उद्धार तथा राहतमा देखाएको सक्रियताको प्रशंसा गरिएको छ । साथै प्रधानमन्त्री र गृहमन्त्रीले विपद् व्यवस्थापनका लागि गरेको समन्वय र निजी क्षेत्रलाई सहयोगका लागि गरेको आह्वानको स्वागत गर्दै नाडा सरकारसँग सहकार्य गर्न सधैं तयार रहेको जनाएको छ ।
नाडाले विपद्पछिको राहत तथा पुनरुत्थान अभियानलाई सहयोग पुर्याउन तत्काल प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।
यसैबीच, महाविपद् नाडा अटो शो २०२६ सञ्चालन भइरहेकै बेला आएको उल्लेख गर्दै आर्थिक गतिविधिलाई निरन्तर चलायमान राख्न भृकुटीमण्डपमा जारी अटो शो पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालनमा रहने नाडाले स्पष्ट पारेको छ ।
नाडाले विपद्को सामना गर्न सरकार, निजी क्षेत्र, व्यवसायी र आम नागरिक सबैले आ–आफ्नो क्षेत्रबाट हातेमालो गर्नुपर्नेमा जोड दिएको छ ।





प्रतिक्रिया