यशोदा ग्रुपद्वारा विपद् प्रभावितलाई ३ करोड ५१ लाख रुपैयाँ सहयोग


काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स र श्रीराम टोबाकोले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।

कम्पनीहरूले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। सहयोग रकमको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए।

यसैगरी, कम्पनीले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्र तथा प्रभावितलाई राखिएका आश्रयस्थलमा ३० लाख रुपैयाँ बराबरको करेन्ट चाउचाउसमेत राहत सामग्रीका रूपमा वितरण गरेको जनाएको छ।

कम्पनीले आवश्यकताअनुसार थप चाउचाउ तथा अन्य राहत सामग्री उपलब्ध गराउन आफू तयार रहेको जनाएको छ। विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक पर्ने अन्य सहयोगका लागि समेत यशोदा ग्रुप पूर्ण रूपमा प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार  १० : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।