काठमाडाैँ । बाढीले पुल बगाएपछि अवरुद्ध बनेको रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के र तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ।
फलाखु खोलामा रहेको पक्की पुल र स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पक्की पुल बाढीले बगाएपछि सडकखण्डमा आवतजावत ठप्प भएको थियो। तत्काल यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले सुरक्षा निकाय तथा स्थानीयको समन्वयमा वैकल्पिक संरचना तयार पारिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिए।
बेत्रावतीमा बाँस र काठ प्रयोग गरेर फड्के निर्माण गरिएको छ। फड्के बनेसँगै नुवाकोटतर्फबाट गेर्खु, छापटार, केराघारी हुँदै बेत्रावतीसम्म पैदल आवतजावत सहज भएको प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामेले बताए।
फड्के निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँगै स्थानीय बासिन्दाको समेत सहयोग रहेको समाजसेवी गणेश श्रेष्ठले जानकारी दिए।
उता, स्याफ्रुबेँसीमा भोटेकोशी नदी पार गर्न फलामे तुइन जडान गरिएको छ। तुइन निर्माण सम्पन्न भए पनि यसको दायाँबायाँ रहेको पदमार्ग व्यवस्थित गर्ने काम जारी रहेकाले एक–दुई दिनभित्र पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत सुरक्षा निकायको समन्वयमा तुइन निर्माण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताए।
वैकल्पिक संरचना तयार भएपछि उत्तरी रसुवाका गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, स्यो र ग्रेलगायत क्षेत्रका बासिन्दालाई स्याफ्रुबेँसी हुँदै आवतजावत गर्न सहज भएको छ।
त्यस्तै, बेत्रावतीको फड्के सञ्चालनमा आएपछि लहरेपौवा, जीवजीवे, धैबुङ, भोर्ले र राम्चेलगायत क्षेत्रका स्थानीयलाई पनि आवागमनमा राहत पुगेको जनाइएको छ।
यद्यपि, स्थानीयवासीले फड्के र तुइनबाट तत्कालको समस्या समाधान भए पनि यी संरचना दीर्घकालीन विकल्प नभएको बताएका छन्। उनीहरूले बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणलाई तीव्रता दिँदै स्थायी समाधानका रूपमा बेलिब्रिज निर्माण गर्न माग गरेका छन्।





प्रतिक्रिया