लमजुङ । तिज भन्नेबित्तिकै धेरैका आँखामा रातो सारी, हरियो चुरा, पोते, दर र नाचगानको दृश्य आउँछ। तर तिज केवल एउटा चाड मात्र होइन, नेपाली महिलाको जीवन, सम्बन्ध, संस्कार र समयसँगै बदलिँदै गएको सामाजिक अवस्थाको कथा पनि हो।
एक समय विवाहित चेलीका लागि तिज माइती पुग्ने दुर्लभ अवसर थियो। वर्षभरि कर्मघरको काममा व्यस्त हुने बुहारी तिजका बेला माइती पुगेर दिदीबहिनी भेट्ने, सुखदुःख साट्ने र मनका कुरा गीतमार्फत पोख्ने गर्थे। अहिले भने तिज मनाउने शैलीमा धेरै परिवर्तन आएको छ। यातायात र सञ्चारको सुविधा बढेसँगै माइती आउजाउ सहज भएको छ भने तिज आउनुअघि नै दर खाने कार्यक्रम सुरु हुन थालेका छन्।
दोर्दी गाउँपालिका–३ की ७० वर्षीया यशोदा घिमिरेका लागि तिजको पुरानो सम्झना अझै माइतीसँग जोडिएको छ। उनका अनुसार पहिले तिज विवाहित चेलीका लागि माइती भेट्ने प्रमुख अवसर थियो। विवाहपछि टाढा–टाढा पुग्ने र वर्षभरि माइती आउजाउ गर्न सहज नहुने भएकाले तिजमा माइती जान पाउनु ठूलो कुरा मानिन्थ्यो।
त्यतिबेला सवारीसाधनको सुविधा थिएन। टाढाको माइती पुग्न घण्टौँ हिँड्नुपर्थ्यो। तिज आउन केही दिनअघि बाबु, दाजु वा भाइ चेलीलाई लिन कर्मघर पुग्ने चलन थियो। कतिपय चेली आफैँ पनि माइती जाने गर्थे।
“त्यतिबेला अहिले जस्तो सवारीसाधन र सञ्चारका माध्यम थिएनन्। टाढा भएका माइतीसम्म पुग्न घण्टौँ हिँड्नुपर्थ्यो। त्यसैले तिजमा माइती भेट्नु नै ठूलो कुरा हुन्थ्यो,” घिमिरेले भनिन्।
माइती पुगेपछि दिदीबहिनी तथा चेलीबेटी एकै ठाउँमा भेला हुन्थे। नाचगानसँगै सुखदुःखका कुरा हुन्थे। घरपरिवारमा भोगेका पीडा, गुनासा र मनका कुरा तिजका गीतमार्फत व्यक्त गर्ने गरिन्थ्यो। फोन वा सामाजिक सञ्जाल नभएका कारण टाढा रहेका आफन्तसँग प्रत्यक्ष भेटेरै कुरा गर्नुपर्थ्यो। त्यसैले तिज महिलाका लागि मनको भारी बिसाउने अवसरसमेत थियो।
छोरीचेली आउने भएपछि माइती पक्ष पनि बाटो हेरेर बस्थ्यो। घरमा उपलब्ध खाद्य सामग्री जुटाएर दरको तयारी गरिन्थ्यो। सबैजना भेला भएर खाने, नाच्ने र रमाइलो गर्ने गर्थे। तर तिज आए पनि सबै बुहारी माइती जान पाउँदैनथे। घरको कामलाई प्राथमिकता दिइने भएकाले कतिपयलाई सासू–ससुराले माइती जान अनुमति नदिने अवस्था थियो।
“तिज आए पनि सबै बुहारी माइती जान पाउँदैनथे। घरको काम गर्नुपर्छ भनेर कतिपयलाई जान दिइँदैनथ्यो। त्यतिबेला काम नै ठूलो कुरा मानिन्थ्यो,” घिमिरेले भनिन्।
बेँसीसहर नगरपालिका–२ भकुण्डेकी ४४ वर्षीया पार्वती क्षेत्रीले आफ्नो पुस्तासम्म आइपुग्दा तिज मनाउने तरिकामा विस्तारै परिवर्तन आएको बताइन्। अघिल्लो पुस्ताको तुलनामा महिलामा चेतना बढ्दै गएपछि चेलीलाई माइती जान दिने र महिलाले पनि चाडपर्व मनाउन पाउनुपर्छ भन्ने सोच विकास भएको उनको अनुभव छ।
“पहिलेभन्दा विस्तारै चेतना बढ्दै गयो। माइती जानुपर्छ, चाडपर्व मनाउन पाउनुपर्छ भन्ने कुरा पनि बुझ्न थालियो। त्यसपछि माइती जाने र भेटघाट गर्ने अवस्था अलि सहज हुँदै आयो,” क्षेत्रीले भनिन्।
सडक र सवारीसाधनको पहुँच बढेपछि माइती आउजाउ अझ सहज भयो। पहिले बाबु, दाजु वा भाइ चेलीलाई लिन आउनुपर्ने अवस्था भए पनि पछि त्यो चलन क्रमशः कम हुँदै गयो। फोनको सुविधा आएपछि माइतीबाट फोन गरेर बोलाउने र चेली आफैँ जाने क्रम बढ्यो।
तिजको अघिल्लो दिन दर खाने र भोलिपल्ट व्रत बस्ने परम्परा भने अझै कायम छ। विवाहित महिलाले श्रीमान्को दीर्घायु तथा परिवारको सुख–समृद्धिको कामना गर्दै व्रत बस्ने, दिनभरि साथीसङ्गीसँग भेटघाट गर्ने र नाचगान गरेर तिज मनाउने गरेका छन्।
बेँसीसहरकी २५ वर्षीया स्वेच्छा श्रेष्ठले आफूले देख्दै र भोग्दै आएको तिज अघिल्लो पुस्ताको भन्दा निकै फरक रहेको बताइन्।
उनका अनुसार अहिले तिज आउनुभन्दा महिनौँअघि नै दर खाने कार्यक्रम सुरु हुन्छन्। साथी तथा महिलाहरू समूह बनाएर पार्टी, समारोह र रेस्टुरेन्टमा जाने, दर खाने र रमाइलो गर्ने चलन बढेको छ। परम्परागत खानासँगै विभिन्न परिकार र पेयपदार्थसहितका कार्यक्रम पनि हुन थालेका छन्। पहिरन र गरगहनाको प्रदर्शन गर्ने प्रवृत्तिसमेत बढेको उनको अनुभव छ।
“तिज भनेको महिलाहरूको पर्व हो भन्ने बुझेकी छु। तिजमा व्रत बस्ने, अघिल्लो दिन दर खाने र श्रीमान्को आयु लामो होस् भनेर कामना गर्ने चलन हो भन्ने बुझेकी छु,” श्रेष्ठले भनिन्।
तिज मनाएका तस्बिर, भिडियो तथा कार्यक्रमका गतिविधि सामाजिक सञ्जालमा राख्ने चलन पनि अहिले बढेको छ। यसले तिजलाई घर, माइती र समुदायको सीमाबाट निकालेर सामाजिक सञ्जालसम्म पुर्याएको छ।
तिजका गीतको स्वरूपमा आएको परिवर्तनप्रति भने श्रेष्ठको चिन्ता छ। उनका अनुसार पहिले धार्मिक भावना, मौलिक संस्कार–संस्कृति तथा महिलाका सुखदुःख समेटिएका गीत गाइन्थे। अहिले तिजका नाममा मनोरञ्जन र नाचगानलाई बढी प्राथमिकता दिने गीत आउने गरेका छन्।
“अहिले तिजको नाममा रमाइलो र नाचगानलाई बढी प्राथमिकता दिइएको जस्तो लाग्छ। मौलिक तिजका गीत र परम्परा जोगाउन सबैले सचेत भएर लाग्नुपर्छ,” श्रेष्ठले भनिन्।
तीन पुस्ताका अनुभवले तिजको बदलिँदो स्वरूप स्पष्ट देखाउँछन्। हिजो तिज माइती पुग्ने र मनका पीडा पोख्ने अवसर थियो। त्यसपछि सडक, सवारीसाधन र फोनको विकाससँगै माइती आउजाउ सहज भयो। अहिले तिज रेस्टुरेन्ट, समारोह हुँदै सामाजिक सञ्जालसम्म विस्तार भएको छ।
माध्यम र शैली फेरिए पनि तिजको केन्द्रमा रहेको चेली र माइतीबीचको सम्बन्ध, सुखदुःख साट्ने चाहना र आफ्नो संस्कृतिप्रतिको अपनत्व भने हराउनु हुँदैन। समयअनुकूल तिज मनाउँदै गर्दा यसको मौलिकता र सांस्कृतिक महत्व जोगाउनु पनि उत्तिकै आवश्यक छ। माइतीको आँगनबाट सुरु भएको तिजको यात्रा अहिले सामाजिक सञ्जालसम्म आइपुगेको छ। रासस





प्रतिक्रिया