पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने


काठमाडौँ । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । यसअनुसार कम्पनीले कुल १५ करोड रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।

निष्काशनसम्बन्धी सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीका तर्फबाट अध्यक्ष लाल प्रसाद सावा लिम्बुले हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर कार्यक्रममा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी नेपालको अर्थतन्त्रमा दिगो वृद्धि र विकासलाई अघि बढाउने उद्देश्यसहित स्थापना भएको लगानी कम्पनी हो । कम्पनीले ‘सानो लगानी, ठूलो अवसर, राष्ट्र निर्माणमा’ भन्ने नाराका साथ ऊर्जा, सूचना तथा प्रविधि, सञ्चार र पर्यटनलगायतका क्षेत्रसँग सम्बन्धित आयोजनामा रणनीतिक रूपमा लगानी गर्दै आएको जनाएको छ ।

कम्पनीले विभिन्न उत्पादनशील तथा सम्भावनायुक्त क्षेत्रमा लगानी विस्तार गर्दै मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।