मेघराज पौडेललाई महासंघको यातायात तथा पारवहन समितिमा जिम्मेवारी


काठमाडौँ । अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनयन गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघले कार्यकारिणी समिति सदस्य लिलेन्द्र प्रसाद प्रधानको सभापतित्वमा गठित यातायात तथा पारवहन समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो।

महासंघले यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासंघका कार्यक्रमलाई प्रभावकारी बनाउन पौडेलको अनुभव, ज्ञान र सक्रिय सहभागिताबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

पौडेल हाल नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव तथा अल्फा अटोमोटिभ प्रालिका निर्देशकका रूपमा अटोमोबाइल क्षेत्रमा सक्रिय छन्। उनी लामो समयदेखि नेपालमा अटोमोबाइल व्यवसाय, बजार विस्तार तथा नीतिगत विषयमा सक्रिय रहँदै आएका छन्।

पौडेलको अटोमोबाइल क्षेत्रसँगको यात्रा नेपालमा रोयल इन्फिल्डको बजार विस्तारको सुरुवाती चरणदेखि नै जोडिएको छ। एउटा शोरुमबाट वार्षिक करिब ५० वटा मोटरसाइकल बिक्री हुने अवस्थादेखि हालको विस्तारित बजारसम्मको यात्रालाई उनले नजिकबाट अनुभव गरेका छन्।

अटोमोबाइल व्यवसायसँगै पौडेल नीति तथा व्यावसायिक मुद्दामा समेत सक्रिय छन्। नाडामार्फत उनले अटोमोबाइल क्षेत्रसँग सम्बन्धित कर तथा राजस्व नीति, सवारीसाधन एसेम्बली उद्योग, अधिकतम खुद्रा मूल्य, व्यवसाय सञ्चालनको वातावरण तथा स्थानीय उत्पादन र पार्टपुर्जाको प्रयोगलगायतका विषयमा सरकार तथा सम्बन्धित निकायसँग हुने छलफलमा सहभागिता जनाउँदै आएका छन्।

नेपालको अटोमोबाइल उद्योगलाई दीर्घकालीन रूपमा अघि बढाउन स्थानीय उत्पादन र एसेम्बली उद्योगको विकास, अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने स्वदेशी पार्टपुर्जाको प्रयोग तथा व्यवसायमैत्री नीतिगत वातावरण आवश्यक रहेको विषयमा पनि पौडेलले जोड दिँदै आएका छन्।

अटोमोबाइल क्षेत्रको व्यावसायिक अनुभवसँगै नाडामा नेतृत्वदायी भूमिकामा रहेका पौडेलको नयाँ जिम्मेवारीसँगै उनको भूमिका कम्पनी तथा ब्रान्डका व्यावसायिक गतिविधिभन्दा बाहिर गएर समग्र यातायात तथा पारवहन क्षेत्रका नीतिगत र व्यावसायिक विषयमा समेत केन्द्रित हुने भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघको यातायात तथा पारवहन समितिले यातायात व्यवसाय, पारवहन, व्यापार सहजीकरण तथा यस क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा निजी क्षेत्रको धारणा प्रस्तुत गर्दै आएको छ। समितिको उपसभापतिको जिम्मेवारीमा पौडेलको अनुभवले आगामी छलफल तथा पहलमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार  ११ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।