लमजुङ । वर्षाका कारण मस्र्याङ्दी नदी बढेको पानीको सतह र बहाव घट्दै गएको छ । लमजुङमा तत्काल बाढीको जोखिम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले हाल नदीको पानीको सतह घट्दै गइरहेकाले तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको जानकारी दिए। उनका अनुसार केही दिनअघि नदीमा पानीको बहाव असार–साउनमा आएको बाढीपहिरोको तुलनामा दोब्बरजस्तै भए पनि अहिले अवस्था क्रमशः कम हुँदै गएको छ ।
“अहिले पानीको सतह घट्दै गइरहेको छ । केही दिनअघि असार–साउनमा आएको बाढीपहिरोको तुलनामा दोब्बरजस्तै बहाव देखिएको थियो, अहिले फेरि सामान्यतर्फ फर्किरहेको अवस्था छ,” उनले भने,“तत्काल जोखिम छैन । सुरक्षित तरिकाले बस्न सकिने अवस्था छ ।”
यसअघि मनाङको चामे क्षेत्रमा घट्टेखोलामा पहिरो खसेर खोला थुनिन सक्ने र त्यसबाट बाढी आउन सक्ने जोखिम देखिएपछि मस्र्याङ्दी नदी आसपासका तटीय क्षेत्रमा पनि सतर्कता अपनाइएको थियो । हाल लमजुङ खण्डमा भने नदीको पानीको सतह घट्दै गएको जनाइएको छ ।
यद्यपि आइतबार एक निरन्तर वर्षाका कारण बाढीले जिल्लाका विभिन्न स्थानमा भौतिक संरचनामा क्षति पुर्याएको छ । बेँसीसहर नगरपालिका–११ र उदिपुर क्षेत्रको बीचमा मस्र्याङ्दी नदीमाथि रहेको मोटरेबल पुलमा समेत क्षति पुगेको छ । पुलमा क्षति पुगेपछि उक्त पुल हुँदै दोर्दी गाउँपालिकाको केन्द्र तथा बेँसीसहर–११ लगायतका क्षेत्रमा आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् । प्रमुख जिल्ला अधिकारी खनालले आफू प्राविधिकसहित आज पुल तथा बाढीबाट क्षति पुगेका अन्य स्थानको निरीक्षणमा जाने जानकारी दिए।
जलविद्युत् आयोजना पुनः सञ्चालन गर्ने तयारी
निरीक्षणपछि आवश्यकताअनुसार पुलको मर्मतसम्भारको काम अघि बढाइने उनले बताए। नदीमा पानीको बहाव बढेपछि मस्र्याङ्दी करिडोरमा रहेका जलविद्युत् आयोजना पनि प्रभावित भएका थिए । जोखिम बढेपछि आइतबार ७० मेगावाटको मध्य–मस्र्याङ्दी र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरी पानी पूर्ण रूपमा बाहिर छाडेका थिए । हाल नदीको बहाव र पानीको सतह घट्दै गएकाले दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी खनालले बताए।
नदीको अवस्था सुरक्षित भएपछि आयोजनाहरू सञ्चालनमा आउने उनको भनाइ छ । निरन्तर वर्षाका कारण मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्नुका साथै लेदो, बालुवा तथा गेग्रानको मात्रा बढेपछि आयोजनाहरूमा जोखिम बढेको थियो ।
त्यसैलाई ध्यानमा राख्दै सुरक्षाका लागि विद्युत् उत्पादन रोकेर पानी बाहिर छाडिएको थियो । प्रमुख जिल्ला अधिकारी खनालका अनुसार अहिले नदीको अवस्था क्रमशः सामान्य बन्दै गएको छ । केही दिनअघिको तुलनामा पानीको सतह घट्दै गए पनि वर्षाको अवस्था हेरेर सतर्कता भने कायम राख्नुपर्ने अवस्था रहेको उनले बताए।









