काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना


काभ्रे । मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका छन् ।

विशेषगरी अरेबिका जातको कफी उत्पादनका लागि उपयुक्त हावापानी र माटो भएका पहाडी जिल्लामा यसको व्यावसायिक खेती विस्तार हुँदै गएको पाइएको छ । कफी खेतीले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै किसानको आम्दानी, रोजगारी र निर्यातमार्फत विदेशी मुद्रा आर्जनको सम्भावना बढाएको छ ।

कफी खेतीको विस्तार र उत्पादनका हिसाबले काभ्रेपलाञ्चोक मुलुककै अग्रणी जिल्लाका रूपमा स्थापित भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा पाँच हजार ५०१।०५ हेक्टर क्षेत्रफलमा कफी खेती हुँदै आएको छ भने प्रशोधनपछिको ग्रीन बिन कफी उत्पादन ६४१.९० मेट्रिक टन पुगेको छ । देशका ४३ भन्दा बढी पहाडी जिल्लामा कफी खेती विस्तार भएको छ ।

काभ्रेपलाञ्चोकमा ४९७ हेक्टर क्षेत्रफलमा कफी खेती हुँदै आएको छ भने ग्रिन बिन कफी उत्पादन १२१ मेट्रिक टन पुगेको छ । क्षेत्रफल र ग्रिन बिन उत्पादनका आधारमा काभ्रे देशकै अग्रणी जिल्ला हो ।

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका सबै वडामा कफी खेती विस्तार भएको छ । गाउँपालिकाका अनुसार यहाँ वार्षिक २१९.८३ मेट्रिक टन कफी चेरी उत्पादन हुन्छ । यो प्रशोधनअघिको काँचो कफी हो । गाउँपालिकाले कफीलाई स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्दै किसानलाई उत्पादनमा जोड्न विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार आर्थिक वर्ष २०७७-७८ देखि हालसम्म पाँच लाख ६६ हजार ५०० भन्दा बढी सुधारिएको कफीका बिरुवा किसानलाई वितरण गरिएको छ । कफी खेती विस्तारसँगै उत्पादन बढाउन, किसानलाई व्यावसायिक बनाउन र स्थानीयस्तरमै बजारीकरणको वातावरण तयार गर्न गाउँपालिकाले निरन्तर काम गरिरहेको उनी बताउँछन् ।

गाउँपालिकाले ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ बीसको नोट’ भन्ने अभियान सञ्चालन गरेको छ । सहकारीमार्फत जीवित कफीका बोट गनेर प्रतिबोट रु २० का दरले किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसले नयाँ बिरुवा रोप्ने र पुराना बगैँचा संरक्षण गर्ने किसानलाई थप उत्साहित बनाएको जिम्बा बताउँछन् ।

महाभारतका किसान शङ्खलाल थोकरले १९ रोपनी क्षेत्रफलमा कफी खेती गर्दै आएका छन् । उनका अनुसार बगैँचाबाट वार्षिक दुई हजार किलोग्रामसम्म कफी उत्पादन हुने गरेको छ । कफी खेतीमा मेहनत र समय लागे पनि बजार सुनिश्चित हुन थालेपछि यसबाट राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ ।

अर्का किसान कृष्णबहादुर मोक्तानले पनि व्यावसायिक रूपमा कफी खेती गर्दै आएका छन् । उनले वार्षिक ५०० किलोग्राम कफी उत्पादन गर्ने बताएका छन्। उनले कफी खेती विस्तारसँगै उत्पादन, प्रशोधन, बजार र मूल्यको सुनिश्चितता अझ बलियो बनाउन आवश्यक भएको बताउँछन् । 

काभ्रेकै खानीखोला गाउँपालिकाले पनि कफी खेतीलाई किसानको आयआर्जनसँग जोडेर अघि बढाएको छ । गाउँपालिकाले ‘जसको उत्पादन उसैलाई अनुदान’ भन्ने नीति अवलम्बन गर्दै उत्पादनका आधारमा किसानलाई प्रोत्साहन गर्न थालेको छ ।

गाउँपालिकाले कफी खेती विस्तारका लागि रु १० लाख बराबरका बिरुवा वितरण गर्नुका साथै आठ किसान समूहलाई आठवटा पल्भर मेसिन उपलब्ध गराएको छ । गाउँपालिकाका अनुसार पछिल्लो समय यहाँबाट ८१ मेट्रिक टन कफी चेरी सङ्कलन भएको छ । उत्पादित कफीको परिमाणका आधारमा किसानलाई प्रतिकिलो रु ३५ उत्पादन प्रोत्साहन रकम उपलब्ध गराइएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

कृषि शाखा प्रमुख विकास तामाङका अनुसार उत्पादनमा आधारित अनुदानले किसानलाई कफी खेतीमा थप आकर्षित गरेको छ। गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर तामाङले कफीलाई स्थानीय उत्पादनका रूपमा मात्र नभई दीर्घकालीन आयस्रोतका रूपमा विकास गर्ने नीति लिइएको बताउँछन् ।

कफी उत्पादक किसानका लागि उत्पादनसँगै प्रशोधन र बजारीकरण पनि उत्तिकै महत्वपूर्ण पक्ष हो । केन्द्रीय कफी उत्पादक सहकारी सङ्घका केन्द्रीय सदस्य तुलसीराम धिताल नेपालमा कफीको सम्भावना उच्च भए पनि किसानलाई उचित मूल्य, नियमित बजार र आवश्यक प्रविधि उपलब्ध गराउन अझै धेरै काम गर्नुपर्नेमा जोड दिन्छन्।

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार  १४ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।