रसुवा बाढीको असर : आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण


काठमाडौँ । गत भदो १० गते रसुवामा आएको भिषण बाढीले नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । बाढीका कारण पूर्वाधारमा भएको ठूलो क्षतिले उद्योग तथा सेवा क्षेत्र लगायत आर्थिक गतिविधि प्रभावित हुँदा समग्र आर्थिक वृद्धिमा संकुचन आउने विश्व बैंकले प्रक्षेपण गरेको हो ।

विश्व बैंकले मंगलबार सार्वजनिक गरेको “नेपाल विकास सम्बन्धी अद्यावधिक प्रतिवेदन–२०२६ : भविष्यका लागि फरक ढंगले पुनर्निर्माण” मा बाढीबाट भएको क्षतिले आर्थिक गतिविधिमा ठुलो दबाब पर्ने उल्लेख गरिएको छ ।

तर क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनःस्थापनाको काम अघि बढेपछि आगामी आर्थिक वर्ष २०८४/८५ मा आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ ।

उद्योग क्षेत्रमा बढी असर

बाढीको सबैभन्दा ठूलो असर उद्योग क्षेत्रमा पर्ने प्रतिवेदनले जनाएको छ । जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण र यातायात पूर्वाधारमा भएको क्षतिले विद्युत् उत्पादन, उत्पादनमूलक गतिविधि र वस्तुको ढुवानी प्रभावित हुने बैंकको आकलन छ । त्यस्तै, व्यापार, यातायात, पर्यटन र वित्तीय गतिविधिमा आएको अवरोधले सेवा क्षेत्रलाई पनि असर गर्नेछ ।

कृषि क्षेत्रमा बाढीको समग्र प्रभाव भने तुलनात्मक रूपमा सीमित रहने अनुमान गरिएको छ । तर बाढी प्रभावित क्षेत्रका नागरिकको रोजगारी र जीविकोपार्जनमा भने उल्लेखनीय असर पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

विश्व बैंकले बाढीबाट क्षतिग्रस्त संरचनालाई पुरानै अवस्थामा पुनर्निर्माण गर्नुभन्दा भविष्यमा आउन सक्ने जोखिमलाई ध्यानमा राखेर निर्माण गर्न सुझाव दिएको छ । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिस्लेनले बाढीपछिको पुनर्निर्माणलाई पूर्वाधार र आधारभूत सेवाको संरचनाबारे पुनर्विचार गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।
उनका अनुसार सडक, सञ्चार, ऊर्जा, खानेपानी, सरसफाइ, स्वास्थ्य र शिक्षाका पूर्वाधारलाई जलवायु परिवर्तन तथा बढ्दो विपद् जोखिमअनुकूल बनाउन आवश्यक छ ।

विश्व बैंकले पुनर्निर्माण अघि बहुविपद् जोखिमको अद्यावधिक मूल्यांकन गर्न पनि सुझाव दिएको छ । पूर्वाधार निर्माणका लागि सुरक्षित स्थान र उपयुक्त डिजाइन छनोट गर्न तथा यातायात, ऊर्जा र सञ्चारका महत्वपूर्ण सञ्जालमा वैकल्पिक व्यवस्था सुनिश्चित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, विपद्को जोखिम कम गर्न पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने र विपद्मा परेका परिवारलाई तत्काल सहायता उपलब्ध गराउन एकीकृत सामाजिक संरक्षण प्रणाली विकास गर्नुपर्नेमा पनि बैंकले जोड दिएको छ ।

दक्षिण एसियाको वृद्धि ६.९ प्रतिशत रहने

विश्व बैंकका अनुसार सन् २०२६ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.९ प्रतिशत रहने अनुमान छ । सन् २०२७ मा भने यो दर केही घटेर ६.७ प्रतिशतमा पुग्ने प्रक्षेपण गरिएको छ ।

सुदृढ आन्तरिक मागका कारण विश्वव्यापी आर्थिक चुनौतीको सामना गर्न दक्षिण एसियाको अर्थतन्त्र तुलनात्मक रूपमा सक्षम रहने बैंकको अनुमान छ ।

विश्व बैंकको क्षेत्रीय प्रतिवेदनले कृत्रिम बुद्धिमत्ता (एआई) को रणनीतिक प्रयोगबाट दक्षिण एसियामा आर्थिक वृद्धिका नयाँ अवसर सिर्जना गर्न सकिने उल्लेख गरेको छ ।

दक्षिण एसियामा एआईको प्रयोग बढ्दै गए पनि विकसित अर्थतन्त्रको तुलनामा यसको प्रयोग अझै कम छ । तर व्यवसायहरूले बजारका नयाँ अवसर पहिचान गर्न र आफ्नो कामलाई प्रभावकारी बनाउन एआईको प्रयोग बढाउँदै गएका छन् ।

विश्व बैंक समूहकी एसियाका लागि प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओन्सर्गका अनुसार एआईको प्रयोगले श्रम उत्पादकत्व बढाउन, निर्यातका अवसर विस्तार गर्न र सार्वजनिक सेवा प्रवाह सुधार गर्न सहयोग पु¥याउन सक्छ ।

त्यसका लागि सरकारले जनशक्तिको सीप विकास, व्यवसायमैत्री वातावरण निर्माण तथा भौतिक र डिजिटल पूर्वाधार सुधारमा ध्यान दिनुपर्ने प्रतिवेदनमा सुझाव दिइएको छ ।

साना व्यवसायले एआई प्रयोग गर्दा सामना गर्ने अवरोध हटाउन, स्थानीय स्तरमा एआईसम्बन्धी नयाँ प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्न तथा स्पष्ट नियामक व्यवस्था बनाउनुपर्नेमा पनि विश्व बैंकले जोड दिएको छ । यस्तो व्यवस्था गर्दा तथ्यांकको सुरक्षा र गोपनीयतालाई समेत सुनिश्चित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार  १५ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।