मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान


संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न तथा अन्तर्राष्ट्रिय कानूनअनुसार नौवहन अधिकार र स्वतन्त्रता पूर्ण रूपमा पुनःस्थापित गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।

पाकिस्तान भ्रमणका क्रममा मङ्गलबार प्रेस टिप्पणी गर्दै उनले प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार पूर्ण रूपमा सुनिश्चित नभएसम्म मध्यपूर्वमा दिगो शान्ति कायम हुन नसक्ने बताए । प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकारको पक्षमा पाकिस्तानले निरन्तर आवाज उठाउँदै आएको उनले उल्लेख गरे ।

महासचिव गुटेरेसले द्वन्द्व र अस्थिरताबाट भागेका लाखौँ अफगान नागरिकलाई पाकिस्तानले दशकौँदेखि आश्रय दिँदै आएको उल्लेख गरे । संवाद र सहकार्यमा आधारित प्रयासबाट मध्यपूर्वमा शान्ति र समृद्धि फस्टाउने आशा व्यक्त गर्दै उनले क्षेत्रीय स्थायित्वका लागि कूटनीतिक समाधान आवश्यक रहेको बताए ।

उनले संयुक्त राष्ट्रसङ्घका सिद्धान्तको समर्थन गर्दै अफगान नागरिक स्वेच्छाले, सुरक्षित र सम्मानपूर्वक स्वदेश फर्कन सक्ने अवस्था सुनिश्चित गर्न पाकिस्तानसँग सहकार्य गर्न संयुक्त राष्ट्रसङ्घ प्रतिबद्ध रहेको बताए । महासचिव गुटेरेसको पाकिस्तानको पछिल्लो भ्रमण सन् २०२२ मा देशभर विनाशकारी बाढी आएपछि भएको थियो ।

प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार  १६ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।