साताको सेयर बजार ‍: उतारचढावबीच नेप्सेमा ४.५५ अंकको सुधार, कारोबार रकम पनि बढ्यो


काठमाडौँ । यो साता सेयर बजारमा तिव्र उतारचढाव देखिए पनि समग्रमा नेप्से परिसूचकमा ४.५५ अंकको सुधार आएको छ । गत साताको अन्तिम कारोबार दिन नेप्से २५८७.२५ विन्दुमा पुगेर बजार बन्द भएको यो साताको शुक्रबार २५९१.८० विन्दुमा पुगेको हो ।

सोमबार २५६६.७६ विन्दुमा झरेको नेप्से मंगलबार ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा पुगेको थियो । बुधबार भने ६.३८ अंकले घट्दै २५७२.३४ विन्दुमा झरेको बजार बिहीबार २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुगेको थियो । साताको अन्तिम कारोबार दिन शुक्रबार १७.१५ अंकले बढेपछि नेप्से २५९१.८० विन्दुमा पुगेको हो ।

यससँगै साताको सुरुवाती विन्दु २५६६.७६ को तुलनामा अन्तिम विन्दु २५९१.८० कायम हुँदा नेप्सेमा २५.०४ अंकले बढेको छ ।

कारोबार रकममा पनि सुधार

साताभर कारोबार रकममा पनि उतारचढाव देखिएको छ । सोमबार ३ अर्ब २७ करोड ९५ लाख रुपैयाँको कारोबार भएकोमा मंगलबार ३ अर्ब १३ करोड ८१ लाख रुपैयाँमा सीमित भएको थियो । बुधबार कारोबार रकम बढेर ३ अर्ब ७४ करोड ८० लाख रुपैयाँ पुगेको थियो भने बिहीबार ३ अर्ब ९३ करोड ५ लाख रुपैयाँको कारोबार भएको थियो ।

शुक्रबार कारोबार रकम थप बढेर ४ अर्ब ८२ करोड ३८ लाख रुपैयाँ पुगेको छ । यो साताको पहिलो दिनको तुलनामा करिब १ अर्ब ५४ करोड रुपैयाँ बढी हो ।

साताको अन्तिम दिन ३५३ कम्पनीका १ करोड २८ लाख ७६ हजार ७९६ कित्ता सेयर ४ अर्ब ८२ करोड ३८ लाख ६८ हजार रुपैयाँमा किनबेच भएका छन् ।

सोमबार वित्त समूहमा सर्वाधिक १.१० प्रतिशतको गिरावट आएको थियो । मंगलबार बजारमा सुधार देखिए पनि निर्जीवन बीमा र लघुवित्त समूहका परिसूचक घटेका थिए । जीवन बीमा समूह ४१.१० अंक र होटल तथा पर्यटन समूह ३६.९७ अंकले बढेका थिए । बुधबार भने वाणिज्य बैंक समूहबाहेक सबै उपसूचक घटे ।

उत्पादन तथा प्रशोधन समूह ७७.६९ अंकले घट्दा निर्जीवन बीमा समूह ५७.०९ अंक, व्यापार समूह ४४.६८ अंक र जीवन बीमा समूह ३४.५७ अंकले घटेका थिए ।

बिहीबार बजारमा सामान्य सुधार देखिएको थियो । त्यस दिन कुथुली बुखुरी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । शुक्रबार भने सबै उपसूचक बढेपछि बजारमा थप सुधार देखियो । होटल तथा पर्यटन समूह ६२.७२ अंकले, जीवन बीमा समूह ५१.२२ अंकले, उत्पादन तथा प्रशोधन समूह ३९.३६ अंकले र विकास बैंक समूह ३२ अंकले बढेका थिए । जलविद्युत् समूह २६.३० अंक र वाणिज्य बैंक समूह १९.१७ अंकले बढेका थिए ।

घलेम्दीमा आकर्षण

साताभर कारोबार रकम तथा कारोबार भएका सेयर इकाइका आधारमा घलेम्दी हाइड्रो अग्रस्थानमा रहेको देखिन्छ । सोमबार कम्पनीको २२ करोड ८ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार २३ करोड ९१ लाख ८२ हजार रुपैयाँको कारोबारसहित कम्पनी शीर्षस्थानमा रह्यो । बुधबार कारोबार रकम ३२ करोड २१ लाख १२ हजार रुपैयाँ पुगेपछि घलेम्दी हाइड्रो कारोबार रकम र कारोबार संख्याका आधारमा समेत अग्रस्थानमा रह्यो ।

बिहीबार पनि कारोबार भएका इकाइ संख्याका आधारमा घलेम्दी हाइड्रो शीर्षस्थानमा रहेको थियो । यद्यपि शुक्रबार कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रह्यो । उक्त दिन बैंकको २१ करोड ११ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार संख्याका आधारमा भने सोलु हाइड्रोपावर शीर्षस्थानमा रहेको थियो ।

मूल्य बढ्ने र घट्ने कम्पनी

साताको पहिलो कारोबार दिन सोमबार स्ट्यान्डर्ड चार्टर्ड बैंक डिबेन्चरको मूल्य ५.७५ प्रतिशतले बढ्दा त्रिशूली जलविद्युतको मूल्य ८.८४ प्रतिशतले घटेको थियो । मंगलबार त्रिशूली जलविद्युतको मूल्य ५.११ प्रतिशतले बढ्यो भने सर्वोत्तम पेन्ट्सको मूल्य ४.९४ प्रतिशतले घटेको थियो ।

बुधबार घलेम्दी हाइड्रोको सेयर मूल्य ६.२५ प्रतिशतले बढ्दा एनआईसी एसिया ब्यालेन्स फण्डको इकाइ मूल्य ५.८३ प्रतिशतले बढेको थियो । बिहीबार कुथुली बुखुरी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने आरबीबी म्युचुअल फण्ड–२ को इकाइ मूल्य ८.०७ प्रतिशतले घटेको थियो ।

शुक्रबार कुथुली बुखुरी स्मल हाइड्रोपावरको सेयर मूल्य ४.९१ प्रतिशतले बढ्दा सिन्धु विकास बैंकको मूल्य ४.२२ प्रतिशत र सोलु हाइड्रोपावरको मूल्य ४.०५ प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि रिज लाइफ इनर्जीको सेयर मूल्य भने ७.८५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।