ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार


ताप्लेजुङ । ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन (४० किलोग्राम) को ८४ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ ।

चालु सिजनको सुरुआतमा प्रतिमन ९६ हजार रुपैयाँसम्ममा कारोबार भएको अलैँचीको मूल्य क्रमशः घटेको छ । एक साताअघि ८८ हजार रुपैयाँका दरले कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर ८४ हजार रुपैयाँमा कारोबार भइरहेको व्यवसायीले बताएका छन् ।

नयाँ उत्पादन आउन थालेसँगै मूल्य घट्न थालेको हो । सिजनको सुरुआती समयमा अलैँचीको मूल्य ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

अलैँची व्यवसायी बालमणि बरालका अनुसार अहिले ओसिलो क्षेत्रका बगानबाट उत्पादित अलैँची बजारमा आइरहेको छ । उच्च क्षेत्रमा भने अलैँची पाक्न अझै केही समय लाग्ने उनले बताए । “ओसिलो क्षेत्रको अलैँचीले सुरुआती समयमा राम्रो मूल्य पायो । त्यसपछि मूल्यमा उतारचढाव हुँदै अहिले सदरमुकाम फुङलिङमा प्रतिमन ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ,” उनले भने ।

ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँचीखेती हुँदै आएको छ । यहाँको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको मूल्यमा हुने परिवर्तनले किसानको आम्दानीमा प्रभाव पार्ने गरेको छ । नयाँ उत्पादन बजारमा आउने क्रम बढेसँगै अलैँचीको मूल्यमा थप उतारचढाव हुनसक्ने व्यवसायीको अनुमान छ ।

प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार  १५ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।