तीन महिनासम्म पनि घटेन चलचित्र गौथलीको ‘क्रेज’


काठमाडौँ । चलचित्र ‘गौँथली’ प्रदर्शनको झण्डै ३ महिना पुग्न लाग्दा पनि हलहरूमा क्रेज अझै कायमै छ । हलमा तीन पुस्ताका दर्शकलाई एकसाथ तान्न सफल यस सामाजिक नाटक चलचित्रले नेपाली बक्स अफिसमा २६ करोडभन्दा बढी ग्रस कलेक्सन गर्दै यस वर्ष सर्वाधिक कमाउने चलचित्र बनेको छ ।

चलचित्र विकास बोर्डको सिनेपा बक्स अफिसले सार्वजनिक गरेको हिजो आइतबारसम्म तथ्यांक हेर्दा अहिले हलमा आधा दर्जनभन्दा बढी नेपाली चलचित्र प्रदर्शनमा रहेका छन् । तर ति चलचित्रहरुमध्ये गौथलीको कमाई उच्च रहेको छ । उक्त आम्दानीको विवरण हेर्दा पनि अन्य चलचित्रभन्दा गौथली नै दर्शकहरुको रुचाएका छन् ।

साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौथली’ ले ९ लाख ४४ हजार ६१२ वटा टिकट बिक्री गरी २६ करोड २ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको हो ।

त्यसैगरी, भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पेन्सन पट्टा’ले ३ लाख ४७ हजार ८८२ वटा टिकटबाट ९ करोड ८८ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको छ ।

असोज ९ गतेदेखि नै प्रदर्शनमा आएको चलचित्र बाः एक योद्धाले अहिलेसम्म ३ करोड ५ लाख २२ हजार कमाई गरेको छ । यस चलचित्रको १ लाख ७ हजार ५३३ टिकट विक्री भएका छन् ।

भदौ २६ गतेदेखि नै प्रदर्शनमा आएको चलचित्र बेहुलीले २ करोड ९९ लाख ४० हजार कमाई गरेको छ भने यस चलचित्रका १ लाख ६ हजार ५४३ टिकट विक्री भएको छ ।

त्यस्तै असोज ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र आचार्यले ५६ हजार १९९ टिकटबाट १ करोड ६२ लाख २७ हजार आम्दानी गरेको छ ।

असोज २ गते देखि प्रदर्शनमा आएको झिंगेदाउ– २ ले १ करोड ४६ लाख १२ हजार कमाई गरेको छ । यस चलचित्रले ४८ हजार ११८ टिकट विक्री गरेको छ ।

त्यस्तै अन्तर्राष्ट्रियरुपमा चर्चामा आएको तिनीहरु इलेफेन्ट इन द फगले अहिलेसम्म १ करोड ३१ लाख कमाइ गरेको छ । यस चलचित्रले ३७ हजार ८८ टिकट बिक्री गरेको छ । यो फिल्मलाई नेपालबाट आउदो ओस्कारका लागि समेत सिफारिस गरिएको छ ।

असोज १६ गतेबाट प्रदर्शनमा आएको चलचित्र चमेलीको पोईले ५५ लाख कमाएको छ भने चंगुलले केवल एक लाख ३८ हजार ३८० मात्र कमाएको छ ।

प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार  १६ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।