एनपिएलः फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै


काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दै छन् ।

यी दुई टोलीबीचको खेल अपराह्न ५ बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।\

आजको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टिमलाई फाइनल पुग्न अर्को अवसर प्राप्त हुनेछ । आजको पराजित टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटर खेलको विजेताको सामना गर्नुपर्नेछ ।

सुदूरपश्चिम र लुम्बिनी पहिलो अवसर नै सदुपयोग गरेर फाइनलमा स्थान बनाउने योजनामा छन् । सुदूरपश्चिम लगातार तेस्रो तथा लुम्बिनी दोस्रोपटक फाइनलको यात्रा गर्ने लक्ष्यमा छन् । गत संस्करणको एनपिएल फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको थियो ।

यही संस्करणको पहिलो खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराएको थियो । लुम्बिनी आज पनि सोही नतिजा दोहोर्याउँदै फाइनलको यात्रा गर्न चाहन्छ ।

दीपेद्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिम लुम्बिनीसँगको पछिल्लो दुई हारको बदला लिँदै तेस्रोपटक फाइनलमा स्थान बनाउने योजनामा छ ।

प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार  ०९ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।