काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘गरिमा रोड रेस’ प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ। ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नाराका साथ शनिबार आयोजित प्रतियोगितामा १ हजार ४०० भन्दा बढी धावक सहभागी भएका थिए।
बैंकको २०औँ वार्षिकोत्सव मंसिर ७ गते सोमबार परेको अवसरमा आयोजित प्रतियोगिताको सुरुवात बैंकको १८औँ वार्षिकोत्सवदेखि गरिएको थियो। यसपटक प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत खुला र कर्पोरेट गरी दुई विधामा महिला तथा पुरुषका छुट्टाछुट्टै चार प्रतियोगिता सञ्चालन गरिएको थियो।
खुलातर्फ १० किलोमिटर दूरीको दौड बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भई नारायणगोपाल चोक, हात्तीगौडा हुँदै बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ को कार्यालयसम्म पुगेर पुनः सोही मार्ग हुँदै बालुवाटारमा आएर सम्पन्न भएको थियो।
त्यस्तै, कर्पोरेटतर्फ ५ किलोमिटर दूरीको दौड बालुवाटारबाट सुरु भई नारायणगोपाल चोक हुँदै न्युरो अस्पताल, बाँसबारी पुगेर पुनः बालुवाटारमै आएर सम्पन्न भएको थियो।
प्रतियोगिताको खुला विधाअन्तर्गत पुरुषतर्फ तीर्थकुमार पुनले १० किलोमिटर दूरी ३१ मिनेट ५० सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे। महिलातर्फ राज्य रावलले ३९ मिनेट ५४ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरिन्।
त्यसैगरी, कर्पोरेट विधाको पुरुषतर्फ ईश्वर बुढाथोकीले ५ किलोमिटर दूरी १९ मिनेट २८ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरे। महिलातर्फ दिव्या विष्टले २६ मिनेट ५७ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरिन्।
प्रतियोगितामा खुलातर्फ १० किलोमिटर विधाका प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्ने धावकलाई क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। उनीहरूलाई मेडल तथा प्रमाणपत्रसमेत प्रदान गरिएको बैंकले जनाएको छ।
त्यस्तै, कर्पोरेटतर्फ पाँच किलोमिटर विधामा प्रथमदेखि पाँचौँ स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। विजेताहरूलाई मेडल तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो।
कार्यक्रममा बैंकका अध्यक्ष दिलीप प्रताप खाँड, सञ्चालक समितिका सदस्य, पूर्वसञ्चालक, शेयरधनी, विभिन्न संघसंस्था तथा निकायका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, पत्रकार र बैंकका कर्मचारीलगायतको उपस्थिति रहेको थियो।
बैंकले २०औँ वार्षिकोत्सवकै अवसरमा मंसिर ७ गते देशका विभिन्न नौ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ। यसका साथै वार्षिकोत्सवको अवसरमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरिने बैंकले जानकारी दिएको छ।







