व्यापार तथा लगानी विस्तारका लागि आपसी सहकार्य गर्नुपर्नेमा नेपाल तथा भारतका व्यवसायीको जोड

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले कोभिड पश्चात आपसी सहकार्य एवं आर्थिक व्यापारिक सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । संयुक्त रूपमा आयोजित नेपाल–भारत व्यापार तथा लगानी अभिवृद्धि विषयक व्यवसायिक वेभिनार छलफल उनीहरुको सो बताएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष भवानी राणाले उर्जावान जनशक्ति र प्राकृतिक स्रोत साधननै दुवै देशको सवैभन्दा ठूलो शक्ति भएकाले यसको समुचित उपयोग मार्फत समृद्धिको यात्राका लागि सहकार्यमा जोड दिईन।

दुवै संस्थाको सहकार्यबाट आपसी हितमा थुप्रै क्षेत्रमा सहकार्य र प्रतिफल समेत प्राप्त भएको स्मरण अध्यक्ष राणाले कोभिड पश्चात विश्वको आर्थिक परिदृश्यमै आमुल परिवर्तनसँग आगामी दिनमा महासंघ र सीआईआई दुवै संस्था बीचको सहकार्य अझ घनीभुत ढंगमा अगाडी बढनुपर्ने धारणा राखिन्।

नेपालस्थित भारतीय राजदूतावासका द्वितिय वाणिज्य सचिव कपिध्वज प्रताप सिंले महासंघ र सीआईआईले आपसी लाभका क्षेत्रमा आगामी दिनमा सहकार्यलाई अझ बढी सशक्त ढंगबाट लैजानुपर्ने र त्यसका लागि भारतीय दूतावासका तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाए।

कार्यक्रममा सीआईआई साउथ एशिया कमिटीका सहअध्यक्ष एवं हाइड्रो बिजनेस जीएमआर ग्रुपका सीओओ हरविन्दर मान्चोले आर्थिक तथा सामाजिक जीवनमा अत्यन्त नकारात्मक असर परेको यथार्थता राख्दै कोभिड पश्चातको आपसी आर्थिक सहकार्य, व्यापार तथा लगानी विस्तारका लागि रणनीति तय गर्न कार्यक्रमले सहयोग पुग्ने विश्वास प्रकट गरे ।

छलफल कार्यक्रममा भारतका तर्फबाट अशोककुमार प्रुष्टि, राकेश गउर, चैतन्य कागलकार, अन्कुल भट्टाचार्य र नेपालको तर्फबाट महासंघका कार्यकारिणी समिति सदस्य एवं निम्वसका व्यवस्थापन निर्देशक आनन्द बगारिया, एफक्यानका वरिष्ठ उपाध्यक्ष निकोलास पाण्डे र होटल संघ नेपालका अध्यक्ष सृजना राणाले पूर्वाधार, उर्जा, कृषि, उत्पादनमुलक र सेवा क्षेत्रमा विषयगत प्रस्तुती दिएका थिए।

कार्यक्रमको अन्त्यमा महासंघका महानिर्देशक धरणीधर खतिवडाले कार्यक्रमले दुवै देश बीच कोभिड पश्चात आपसी सहकार्य एवं आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी प्रवद्र्धनमा महत्वपूर्ण मार्ग निर्देश गरेको स्पष्ट पारे । साथै उनले महासंघ र सीआईआईबीच अहिलेको कठिन घडीमा निरन्तर संवादमा समेत जोड दिए ।

प्रकाशित मिति: ६ साउन २०७७, मंगलबार  १७ : ४७ बजे