अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गर्ने दुई युवती पक्राउ

0
Shares

अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जनालाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने बाग्लुङका कोपिला शर्मा र १९ वर्षीया अमिसा केसी रहेको महाशाखाले आइतबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।

प्रहरीले विभिन्न व्यक्तिलाई फेसबुक, टिकटकमार्फत फलो गर्ने र आफू अमेरिकाको डिभी परी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएको, बिहे गरे पश्चात् अमेरिका लैजाने भन्ने प्रलोभन दिई उनीहरुले ६ लाख ६० हजार ठगी गरेको खुलेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

यसैबीच बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ४७ वर्षीय राजेन्द्रकुमार महर्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७६ माघ २० को फैसलाले १० दिन कैद र १५ लाख ७५ हजार जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले आइतबार कलङ्कीबाट पक्राउ गरेको हो ।

महर्जनले नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारी २०७५ भदौमा चेक काटेर दिएका थिए ।

उनलाई अदालतले बैकिङ कसुरजन्य अपराध गरेको ठहर गरी कैद र जरिवाना हुने फैसला गरेको सिआइवीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । महर्जनलाई आइतबार नै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ साउन २०७७, सोमबार  ०९ : ३४ बजे