चितवनमा १३२ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न

0
Shares

चितवनमा १३२/३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको छ।

नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा सवस्टेशन निर्माण गरिएको हो। सवस्टेशनमा राखिएका १३२/३३ केभी र ३० एमभीएका दुई पावर ट्रान्सफर्मरमध्ये एउटा नोलोडमा चार्ज गरिएको छ।

हेटौँडाबाट भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई सवस्टेशनभित्र छिराएर बाहिर निकाली सफलतापूर्वक चार्ज गरिएको आयोजना प्रमुख रमनराज शर्माले बताए। उनले अब लोड दिएर चार्ज गर्ने तयारी गरेको बताए। हेटौँडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई त्यस क्षेत्रमा आपूर्ति गर्न पूर्वी चितवन सवस्टेशन निर्माण गरिएको शर्माले जानकारी दिए।

उनले सवस्टेशन सञ्चालनमा आएपछि प्राविधिक चुहावट घट्ने, ग्राहकले पनि गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् पाउने र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने बताए। अहिले भरतपुरमा रहेको १३२ केभी सवस्टेशनबाट करीब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३/११ केभी चैनपुर सवस्टेशनमार्फत पूर्वी चितवनमा विद्युत् आपूर्ति भइरहेको छ।

लामो दूरीका कारण लाइन चुँडिने, ट्रिपिङ हुने, लो भोल्टेज र विद्युतको प्राविधिक चुहावटको समस्या हुँदै आएको छ। पूर्वी चितवन सवस्टेशनबाटै विद्युत् आपूर्ति हुन थालेपछि भरतपुर सवस्टेशनको लोड पनि कम हुनेछ। पूर्वी चितवनको समस्या पनि समाधान हुने आयोजनाले जनाएको छ।

आयोजनाको अनुमानित लागत ५४ लाख अमेरिकी डलर छ। आयोजनाको काम २०७५ असारदेखि शुरू भएको थियो। गत चैतभित्रमा सञ्चालन गर्ने लक्ष्य राखिएको सवस्टेशनको निर्माण विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित हुँदा केही ढिला भएको हो। लकडाउनपछि अहिले बाँकी काम धमाधम भइरहेको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।