पाल्पामा तितेपातीको तेल निकाल्न शुरु, एक लिटरको मूल्य १० हजारसम्म

0
Shares

पाल्पाको तिनाउ गाउँपालिकामा तितेपातीको तेल उत्पादन शुरु गरिएको छ । करिब १५ वर्षअघि नै सोको उत्पादनका लागि उद्योग स्थापना गरिएको भए पनि प्रभावकारी ढङ्गले चल्न सकेको थिएन । स्थानीय जडीबुटी सहकारी संस्थाले झुम्सामा तितेपातीको तेल उत्पादन शुरु गरिएको सहकारीका अध्यक्ष झपेन्द्र जिसीले जानकारी दिए ।

उनले आगोबाट पानी तताई त्यसको बाफबाट मेसिनको प्रयोग गरी तितेपातीको तेल निकाल्न थालिएको तर प्रविधिको सहयोग पाएमा काम छिटो छरितो र प्रभावकारी हुने हुँदा सरकारले यसको व्यवस्थापन गर्नुपर्ने बताए । करिब चार रोपनी जग्गामा १५ लाखको सानो मेशिन जडान गरिएको छ । उनले यसबाट काम गर्न समस्या रहेकाले ठूलो मेशिन स्थापना गरेर पाल्पामा पाइने अदुवा, बेसार तथा अन्य जडीबुटीसमेत प्रशोधन गर्न सकिने सुनाए ।

सहकारीले गाउँटोलमा पाइने तीतेपातीलाई प्रतिकिलो रु आठ मा खरिद गर्दै आएको छ । पाखो जग्गामा रहेको तीतेपातीबाट स्थानीयस्तरमा समेत स्वरोजगार सिर्जना हुने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए । पाँच क्विन्टल तीतेपाती एक पटकमा पेल्दा एक लिटर तेल निस्कन्छ । एक लिटर तेललाई १० हजारसम्ममा बिक्री गर्न सकिन्छ ।

पाल्पामा पनि बेसार, अदुवा, तेजपातलगायतबाट समेत मनग्य आम्दानी लिन सकिने सहकारी संस्थाले जनाएको छ । गाउँघरमा प्रशस्तै औषधिजन्य जडीबुटी पाइए पनि यसको प्रशोधन सुविधा नहुँदा र महत्व नचिन्दा ओझेल परेकामा अब सहकारीले प्रशोधन यन्त्र उपलब्ध भएमा अन्य जडीबुटीलाई पनि प्रशोधित गर्ने र विदेशमा समेत निर्यात गरेर राम्रो आर्थिक उपार्जन गर्ने योजना बनाएको छ ।

नेपालमै उदाहरणीय कार्य गरेको सहकारीले बाँदर, बँदेल, दुम्सीलगायत जङ्गली जनावरले खेती खाइदिएर हैरान परेका पाल्पाली कृषकमा जङ्गल, खेतबारीमा समेत राम्रोसँगै फैलिनसक्ने तितेपातीबाटै पनि राम्रो आम्दानी गर्न सक्ने आशा पलाएको छ । सहकारीका सदस्य बुद्धिराज गौतमले फ्याँकिएका बिरुवाबाट पनि आम्दानी लिन सकिन्छ भन्ने ज्वलन्त उदाहरण तीतेपातीको तेल निकाल्ने कार्यले सबैमा उत्साह थपेको बताउनुभयो । संस्थाले अहिले सात जनालाई रोजगारीसमेत दिएको छ । विसं २०५६ मा स्थापना गरिएको संस्थामा १६५ शेयर सदस्य छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ साउन २०७७, बिहीबार  १२ : ५० बजे