दाउन्नेमा सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध


पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा सडक भांसिदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

बर्दघाट नगरपालिका – ४ दाउन्ने जंगल स्थित खुर्सानीखोलामा सडक भासिएपछि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहोराले जानकारी दिए ।

सडकको माथिल्लो भागमा रहेको पर्खाल भत्किएपछि विद्युत हाइटेन्सन लाइन सडकमा ढलेको थियो । उक्त पोल हटाउने प्रयास गर्दागर्दै सडक भासिएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

सोमबार साँझ ५ बजेपछि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेपनि तत्काल सम्भव नभएको प्रहरीले जनाएको छ । सडक डेढ फिट भासिएको र बाँकी भाग पनि चर्किएकाले मर्मत सम्भारका लागि सडक डिभिजन कार्यालय चितवन र विद्युत प्राधिकरणसंग समन्वय भइरहेको डीएसपी बोहराले बताए ।

सडक अवरुद्ध भएपछि नारायणगढबाट आउँदै गरेका सवारी साधनलाई दुम्कीबास र बुटवल तर्फबाट जाँदै गरेका सवारी साधनलाई बर्दघाटमा रोकिएको छ ।