कात्तिक महिनाका लागि अधिकांश बैंकले घटाए ब्याजदर, कुनको कति ?


काठमाडौँ । अधिकांश वाणिज्य बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।

आगामी कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका हुन् । असोजका लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ६.४ प्रतिशत ब्याजदर दिइरहेकामा यस्तो ब्याजदर घटेको हो ।

सार्वजनिक विवरणअनुसार कुल २० वटा वाणिज्य बैंकमध्ये १० वटाले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने ९ वटा बैंकले असाेजकै ब्यादरलाई निरन्तरता दिएका छन् । सानिमा बैंकले भने ब्याजदर बढाएकाे छ ।

कात्तिक महिनाका लागि कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, एनआइसी एसिया बैंक र नबिल बैंकले ब्याजदर घटाएका छन् ।

यस्तै, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ब्याजदर स्थिर राखेका छन् ।

ब्याजदर घटेसँगै असोजमा अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.३९ प्रतिशत रहेकामा कात्तिकमा ६.१८ प्रतिशतमा झरेको छ । भदौमा भने अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ६.५० प्रतिशत थियो ।

यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फ पनि बैंकहरूको औसत ब्याजदर ४.९२ प्रतिशत कायम भएको छ । असोज महिनामा संस्थागततर्फ बैकहरूको औसत ब्याजदर ५.१० प्रतिशत थियो । बैंकहरूले कात्तिकका लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.१४ प्रतिशत छ ।

कुन बैंकले कति बनाए ब्याजदर ?

एनआइसी एसिया बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । एनआइसीले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ६.९९ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यस्तै, स्ट्यान्डर्ड चाटर्ड बैंकले पनि व्यक्तिगत निक्षेप र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले असोज महिनाका व्यक्तिगततर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सिटिजन्स इन्टरनेसनल बैंकले पनि कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेप र संस्थागततर्फ दुवैको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदर तोकेको छ ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले पनि व्यक्तिगतको ब्याजदर घटाएको छ भने संस्थागततर्फ स्थिर राखेको छ । व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.८ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ ।

प्राइम कमर्सियल बैंकले पनि कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागतको ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यता, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फको ब्याजदर स्थिर राखेको छ भने संस्थागततर्फको घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी सनराइज बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सिद्धार्थ बैंकले पनि ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नबिल बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यस्तै, नेपाल बैंक लिमिटेडले भने ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.९४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

हिमालयन बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

कृषि विकास बैंकले असोज महिनाका लागि ब्यक्तिगत तर्फको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५६ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रभु बैंकले व्यक्तिगत र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । जसअनुसार कात्तिक महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यस्तै, एभरेष्ट बैंकले पनि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको छ ।

सानिमा बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फको ब्याजदर बढाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१५ प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।

नेपाल एसबीआई बैंकले भने कात्तिक महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

यस्तै, ग्लोबल आइएमई बैंकले भने ब्याजदर स्थिर राखेको छ । असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

एनएमबी बैंकले पनि कात्तिक महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

माछापुच्छ्रे बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।