३० करोडको IPO ल्याउन लागेको सानिमा जनरलको ५३ प्रतिशतले बढ्यो खुद नाफा


सर्वसाधारणमा शेयर निष्काशनको तयारीमा रहेको सानिमा जनरल इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ५३ प्रतिशतले खुद नाफा बढाएको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ५ करोड ५६ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले ३ करोड ६२ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा ५३.४ प्रतिशतले बढेको हो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७ करोड ४७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको सानिमा जनरलले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १३ करोड ५५ लाख ४१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। पुनर्बीमा कमिशन, लगानी कर्जा तथा अन्य आय लगायतका आम्दानी शीर्षकमा सुधार गरेको इन्स्योरेन्सको खुद दाबी भुक्तानी पनि बढेको छ ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३५ लाख ९० हजार रुपैयाँ खुद बीमा दाबी भुक्तानी गरेको इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ करोड ७३ लाख ४३ हजार रुपैयाँ भुक्तानी गरेको छ। खर्चका अरु सबै शीर्षकमा बढोत्तरी आएको इन्स्योरेन्सको व्यवस्थापन खर्च भने घटेको छ ।

चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको इन्स्योरेन्सले ३० करोडको साधारण शेयर निष्काशन गरी १ अर्ब पुर्याउनका लागि धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ। ७० करोडको पूँजीका आधारमा हेर्दा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९४ पैसा हुन आउँछ ।

समीक्षा अवधिमा २ करोड ४७ लाख ४५ हजार रुपैयाँको जगेडा कोषलाई ४ करोड ९८ लाख ८३ हजार रुपैयाँ पुर्याएको इन्स्योरेन्सको बीमा कोष पनि २ करोड ९६ लाख ३३ हजार रुपैयाँबाट ५ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।

इन्स्योरेन्सले ८०७ वटा बीमा दाबी भुक्तानी गरेको छ भने ४०६ वटा बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।

सानिमा जनरल इन्स्योरेन्सले माग्यो आईपीओ जारी गर्ने अनुमति

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।