कञ्चनलाई गाभेर एनएमबि बैंकले भदौ ७ देखि एकीकृत कारोबार थाल्ने


एनएमबि बैंकले सुदूरपश्चिमको कञ्चन डेभलपमेण्ट बैंकलाई आफूमा गाभेर भदौ ७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । नियमक निकायबाट स्वीकृति पाएपछि बैंकले सबै प्रकृया पूरा गरेर एकीकृत कारोबार गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए ।

नोटबजारसँग कुरा गर्दै प्रमुख कार्यकारी अधिकृत केसीले भने, ‘गत साता राष्ट्र बैंकबाट र साउन २८ गते कम्पनी रजिष्ट्ररको कार्यालयबाट विलय प्रकृयाका लागि स्वीकृति पाएको अवस्थामा छिटो गरेर एकीकृत कारोबार सुरु गर्न लागेका हौं ।’

नेपाल राष्ट्र बैंकले साउन २५ गते कञ्चन डेभलपमेण्ट बैंकलाई विलय गर्न एनएमबिलाई अन्तिम स्वीकृति दिएको थियो ।

एनएमबिले कञ्चनलाई १०० कित्ता शेयर बराबर ८५ कित्ताको अनुपातमा विलय गरेको हो ।

२०७६ माघ २६ गते एनएमबि बैंकले कञ्चन डेभपमेन्ट बैंकलाई खरिद गर्ने प्रारम्भिक सम्झौता गरेकोमा गत जेठ २५ गते आइतबार अन्तिम सम्झौतामा हस्ताक्षर गरेका थिए ।

बैंकले एकीकृत कारोबार सुरु गरी शेयर सूचीकरण प्रकृया पनि तत्काल अघि बढाउने जनाएको छ । भदौ अन्तिमसम्मा दोस्रो बजारमा कञ्चनको शेयरलाई एनएमबिमा रुपान्तरण गरी सूचीकरण गराउने योजना बैंकको छ ।

योसँगै कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीहरुले १०० कित्ताबराबर एनएमबि बैंकको ८५ कित्ता शेयर पाउने छन् । शेयर सूचीकरण भए पश्चात कञ्चनको शेयरलाई एनएमबीमा रुपान्तरण गरी लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिनेछ ।

सुदूरपश्चिम क्षेत्रमा बलियो उपस्थिति बनाएको कञ्चन प्राप्तिपछि एनएमबि बैंकको चुक्ता पूँजी १४ अर्ब ४५ करोड पुग्नेछ भने जगेडा कोषको आकार ७ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न सहज भएकोे र त्यसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा उपलब्ध गराउन मद्दत पुगेको बैंकले जनाएको छ ।

कञ्चन डेभलपमेन्ट बैंकको चुक्तापूँजी ५८ करोड ४४ लाख रुपैयाँ छ । ५ जिल्ला कार्यक्षेत्र रहेको बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् ।

यसअघि ओम डेभलपमेण्ट बैैंकको १०० कित्ता शेयर बराबर एनएमबि बैंकको ७६ कित्ता शेयर आदान प्रदान गरी एनएमबि बैंक र ओम डेभलपमेण्ट बैंक मर्जरमा गएका थिए ।

कन्चन डेभलपमेन्ट बैंकलाई खरिद गर्न एनआईसी एशिया, माछापुच्छ्रे र सिद्धार्थ बैंकले पनि प्रयास गरेका थिए । यी बैंकहरुले कञ्चन डेभलपमेन्ट बैंकसँग चरणवद्ध छलफल गरे पनि अन्तत एनएमबि बैंकले खरिद गरेको हो । 

एनएमबि बैंकको वितरण योग्य नाफा १२ प्रतिशतले बढ्यो, खुद नाफा २२७ करोड

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।