स्टक ब्रोकर एसोसिएसनको अध्यक्षमा सागर ढकाल निर्वाचित


स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा ढकालले राजकुमार तिमिल्सिनालाई हराउँदै एसोसिएसनको नेतृत्वमा पुगेको हुन् ।

हिमालयन ब्रोकरेज कम्पनीका अध्यक्ष रहेका ढकाल नयाँ ब्रोकर हुन । उनले नयाँ ब्रोकरहरूको सङ्गठन नेतृत्व गरेका थिए । करिब एक साता अघि मात्रै ब्रोकरहरूको दुई सङ्गठन एक भएका थिए । ब्रोकरहरू एक भएपछिको शुक्रबार नयाँ नेतृत्व चयन भएको हो । दुई सङ्गठन एक भएपनि स्टक ब्राकेर एसोसिएसनको अध्यक्षमा धर्मराज सापकोटालाइ नै निरन्तरता दिइएको थियो । 

दुई सङ्गठन एक हुने क्रममा नै अधिवेशन तोकेर नयाँ कार्यसमतिको चयन गर्ने सहमति भएको थियो । सो अनुसार एसोसिएसनको शुक्रबार चुनाब भएको थियो । चुनावमा ढकाल र तिमिल्सिनाको प्यानल प्रतिस्पर्धामा थियो । 

शुक्रबार भएको निर्वाचनले ढकाललाई अध्यक्षको जिम्मेबारी दिएको छ भने उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, सचिवमा विनय कुमार रेग्मी र कोषाध्यक्षमा मदन पौडेल निर्वाचित भएका छन । 

ढकालले कुल ४५ मत प्राप्त गरेका छन भने तिमिल्सिनाले ४३ मत ल्याएका छन् । एसोसिएसनमा हाल ९२ सदस्य रहेका छन । 

 

प्रकाशित मिति: २१ मंसिर २०८१, शुक्रबार  १८ : ५४ बजे