मातृभूमि लघुवित्त वित्तीय संस्थाका अध्यक्ष लोकराज शर्मा र प्रमुख कार्यकारी अधिकृत (सीइओ) लक्ष्मी प्रसाद शर्मा विरुद्ध केन्द्रीय बैंकमा उजुरी परेको छ । उनीहरूले बैंकबाट कर्जा लिँदा कमिसन खाएको तथा पदीय जिम्मेवारीको दुरुपयोग गरेको भन्दै केन्द्रीय बैंकमा उजुरी परेको हो ।
शर्मा द्धयले गत असोज मसान्तमा एनआईसी एसिया बैंकबाट ९.०६ प्रतिशत ब्याजदरमा एक अर्ब कर्जा लिएको र तुरुन्तै १४ दिन भित्रमा उक्त कर्जा मध्ये पचास करोड सावा र ब्याज तथा सेवा शुल्क गरी लगभग १७ लाख फिर्ता गरेको कारण प्रस्ट नभएकाले आवश्यक कारबाहीको माग गर्दै केन्द्रीय बैंकमा उजुरी परेको हो । ‘संस्थालाई भार बोकाउने कार्य संचालक समितिका अध्यक्षको मौखिक निर्देशनमा भएको हुँदा सो रकम संस्थालाई भार नबनाई निज अध्यक्ष लोकराज शर्मा र कार्यकारी प्रमुख लक्ष्मी प्रसाद शर्मा (शर्मा दाजुभाई) बाट असुली गराई दुबै जनालाई नियमानुसार कारबाही हुनु पर्ने ‘उजुरीमा उल्लेख छ ।
त्यसैगरी २०८१ असोज महिनामा रूपन्देहीमा शाखा प्रबन्धक समीक्षा कार्यक्रम गराई मेटलाइफ बिमा संस्थालाई प्रायोजक बनाएको भएपनि सम्पूर्ण भुक्तानी संस्थाबाट गराएको आरोप उजुरीकर्ताको छ । उक्त कार्यक्रमको खर्च करिब ४० लाख मेट लाइफलाई भुक्तानी गराएको भएपनि सोही बिलका आधारमा संस्थाबाट पनि भुक्तानी गरेको हुनाले त्यसको समेत छानबिनको माग उजुरीकर्ताको छ ।
विगतमा जागिर छोडेका तथा निलम्बित भएका कर्मचारीहरूबाट असुलउपर गर्नुपर्ने लगभग पाच करोड बराबरको रकम व्यवस्था गरी रकम असुल उपर गर्न कडाइ नगरेको आरोप समेत उजुरीमा उल्ले छ । प्रमुख कार्यकारी अधिकृत र संस्था बिच भएको करार नियुक्ति सम्झौता विपरीत संस्थामा नियुक्ति लिएको १ महिना भित्र दशैं भत्ता बापत एक महिना बराबरको सुविधा लिएको हुनाले उक्त रकम संस्थालाई फिर्ता गर्नु पर्ने समेत उजुरीकर्ताको माग छ ।
किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भै सकेपछि बनेको तदर्थ समितिका संचालक सदस्य खडानन्द सापकोटाले प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको विषयमा फरक मत राखेकै कारणले १४४ औं बैठकबाट संचालकबाट निर्णय नगरी हटाएको आरोप समेत अध्यक्ष शर्मालाई लागेको छ । कम्पनी सचिव सजन खड्का र अध्यक्ष लोकराज शर्माको मिलेमतो बाट निर्णय गरेको भनी स्पष्टिकरण लेखी सापकोटालाइ पदमुक्त गराएको उजुरीमा उल्लेख छ ।
संस्थामा ८० बैठक अनलाइनबाटै गर्ने गरेको तर माइन्युटमा लिपिबद्ध गर्दा कम्पनी सचिव र अध्यक्षको मिलेमतोमा आफ्नो अनुकुल फरक निर्णय लेख्ने गरेको उजुरीमा उल्लेख छ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त नेपाल पेमेंट सोलुसनको कार्यकारी निर्देशक र र मातृभूमी लघुवित्तको अध्यक्ष पदमा रहेका लोकराज शर्मा लाई दोहोरो जिम्मेवारीमा बस्न नमिल्ने भएपनि त्यसको पालना नगरेको देखिन्छ । साथै उनले संस्थामा बदनियतपुर्ण कार्य गरीरहेको हुनाले शर्मालाई पदमुक्त गरी संस्थागत सुसासन कायम गराउनमा सहयोग पुर्याइदिन केन्द्रीय बैंकलाइ उजुरीकर्ताले अनुरोध गरेका छन ।
प्रतिक्रिया