बुधबार मात्र शेयर लगानीकर्ताको सम्पत्ती ३३ अर्ब ८५ करोड रुपैयाँले बढ्यो

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कुल बजार पूँजीकरण बुधबार १९ खर्ब ९८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । नेप्सेको यो कुल बजार पूँजीकरण सोमबारको तुलनामा ३३ अर्ब ८५ करोड रुपैयाँले धेरै हो ।

सोमबार नेप्सेको कुल बजार पूँजीकरण १९ खर्ब ६४ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो । बुधबार नेप्से परिसूचक साढे २५ अंक बढेपछि कुल बजार पूँजीकरण पनि बढेको हो । बुधबार नेप्सेमा ४ अर्ब १८ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । 

नेप्से परिसूचक बढेपछि बजार पूँजीकरण पनि स्वभाविक रुपमा बढ्छ । नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचिकृत कम्पनीको शेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पूँजीकरण भनेको शेयर बजारमा रहेको सम्पत्तीको आकार हो ।

नेप्सेमा सूचिकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचिकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङकन गर्न सकिन्छ ।

सोमबार २२ अंकले बढेको नेप्सेमा ३ अर्ब ४६ करोड २५ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको थियो । मंगलबारको सार्वजनिक विदापछि बुधबार नेप्सेमा कारोबार हुँदा २५ अंकको सुधार आएको छ भने कारोबार रकम पनि हालसम्मकै तेस्रो उच्च रहेको छ । यसभन्दा अघि गत फागुनमा ४ अर्ब ८६ करोड र ४ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो ।

पछिल्लो समयमा कोरोना महामारीका कारण शेयर कारोबार पनि प्रविधि मार्फत हुने गरेको छ । लगानीकर्ताले घरमै बसेर प्रविधिको प्रयोग गरी शेयर खरिद बिक्री गरेको अवस्था छ । कोरोनाका कारण अर्थतन्त्र नै ठप्प छ ।

लगानीकर्तालाई लगानीको अन्य क्षेत्र नहुनु र बैंकिङ प्रणालीको ब्याजदर घट्दो क्रममा भएपछि शेयर बजार एक पछि अर्को दिन उच्च अंकले बढ्दै आएको छ । पछिल्लो समयमा बैंकिङ प्रणालीको पैसा पनि शेयर बजारमा आउन थालेपछि सबैको आकर्षणको क्षेत्रको रुपमा धितोपत्र बजार देखिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।